सूचनाको शक्ति - The Power Of Information

        

मृतक गायिका सुनारको सुसाइड नोट, ‘म एक्लो भएँ’

लोक गायिका दिलमाया सुनार आफ्नो डेरामा मृत फेला परेकी छन् । सुर्खेत स्थायी घर भएकी ३० वर्षीय सुनार शनिबार काठमाडौं त आफ्नो डेरामा मृत फेला परेकी हुन् ।

घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त बालाजुले एक जनालाई नियन्त्रणमा लिएको छ । शनिबार बिहान सुनारको कोठामा पुगेका व्यक्तिलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

लामो समयदेखि लोक संगीतमा सक्रिय सुनारका केही गीत सार्वजनिक छन् भने उनी लाइभ दोहोरीबाट लोकप्रिय भएकी थिइन् । सुनारको गत वर्ष सार्वजनिक भएको देउसी भैलो गीत धेरैले मन पराएका थिए ।

मृतक सुनारले शुक्रबार राती आफ्नो फेसबुकमा केही रोइरहेको टिकटक सहित लामो भावुक स्टाटस पनि लेखेकी थिइन् । आफ्नी आमा, दिदी बहिनी, छोरालाई सम्झिँदै माफी मागेकी थिइन् ।

साथै आफूसँग पैसा नभएकाले आफ्नो पोस्टमार्टम पनि नगर्न उनले अनुरोध पनि गरेकी थिइन् । यो आत्महत्या हो की हत्या भन्ने विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस्तो छ उनले लेखेको नोट

नमस्कार सबै जनामा र मिठो सम्झना छ । जिन्दगीको उचारचढाव धेरै भोगेँ । तर जब म जान्ने भए अनि म एक्लो भएँ । र कसैको माया माया पाउन जति कोसिस गरे पनि सकिनँ । तर पनि हार खाइनँ । तर ऐले धेरै गाह्रो भयो । म बाँचेर पनि दिनदिनै मर्न सकिनँ ।

आमा तिम्री छोरी धेरै थाकिछे । जिन्दगीको मोडमा धेरै अप्ठेरा आए । पार पनि गरेँ । जसलाई राम्रो गर्छु भने पनि भएन । म कहाँ जाऊ आमा ? दुःख पोख्न माइती आउँ भने तिमीलाई सबै कुरा थाहा छ । म भित्रभित्रै मरेर बाँचेछु ।

आमा म नभएर के भो त चार बहिनी छोरी छन् । मन बुजाउनू, नरुनू । छोरा तिमीलाई धेरै पढाउन मन र ठूलो मान्छे बनाउन मन थियो, सकिनँ । तिमी जसरी भए पनि ठूलो मान्छे बन्नु है । म नभए तापनि मेरो आशिर्वाद सधैँ तिमिसित हुनेछ ।

बहिनी हर्ष आमालाई गाली नगर्नू अनि आमा बाँच्दासम्म मेरो कमी हुन नदिनू । मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनू जसले भए पनि । म थाकेँ । धेरै थाकेँ । अब म बाँच्न सक्दिनँ । यो दुनियाँ धेरै स्वार्थी छ । म आफ्नो इच्छाले यो कदम उचालेकी छु ।

कसैलाई दोष छैन । कसैले खोजी नीति पनि नगर्नू र मलाई पोष्टमार्टम पनि नगर्नू, मसित पैसा छैन । मसित थोरै सुन छ । त्यो सुन बेचेर मेरो छोरालाई दिनू । घरबेटीहरूलाई कसैले केही नगर्नू । अरुलाई पनि कसैलाई केही नगर्नू । मेरो लास जसरी हुन्छ घरसम्म पुर्याइदिनू ।

अफ्ठेरोमा मेरो छोरालाई हेर्दिनू । छोरा चिन्ता नगर्नू है । यही सम्झिनू मेरो आमा सानैमा मरेको हो भनेर मन बुझाउनू । सबैले मलाई कायर भन्नुहुन्छ होला र मलाई बाँच्न अति गाह्रो भयो । कति बेला के हुन्छ थाहा छैन मेरो जीवन ।

प्रकाशित मिति : १२ असार २०७९, आइतवार ११:५८