सूचनाको शक्ति - The Power Of Information

        

बाढी र पहिरोले कास्कीका १३ घरमा क्षति

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा शुक्रबार साँझदेखि भएको अविरल वर्षाले कास्कीका विभिन्न पाँच ठाउँमा क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काका अनुसार पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकामा क्षति भएको हो।

पोखरा महानगरपालिका–२५ को म्याग्दी टोल, सुन्दरपुरी, खहरेटारी, हेम्जा लगायतका स्थानमा बाढी र पहिरोले करिब ७० घर डुबानमा परेका छन्।

ती घरहरूमा बसोबास गर्दै आएका करिब तीन सय स्थानीय बासिन्दालाई विद्यालय, मन्दिर, आफन्तको घर लगायतका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

वडा–२५ कै सुन्दरपुरी बस्ने लक्ष्मी बिक, बिना बिक, भूमिका बिक, विनीता कुमारी बिक, भिमा श्रीस थापा, लक्ष्मी बिक, वसन्त बागदास, झिल्के नेपाली, ईश्वर सापकोटा, सोनिया परियार गरी १० जनाको घरमा आंशिक क्षति भएको छ।

वडा–२५ हेम्जाकै खहरेटारी बस्ने सुरेम बहादुर गुरुङका दुई ओटा बाख्राको जीवितै र नौ ओटा बाख्राको मृत अवस्थामा उद्धार गरिएको पनि प्रहरीले बताएको छ।

पोखरा महानगरपालिका–१६ स्थित सालघारी देउराली बस्ने राम बहादुर मगरको एक तले चार कोठे कच्ची घर पहिरोले बगाएर पूर्ण रूपमा क्षति भएको छ। सोही स्थानका अन्य १३ ओटा घरहरूमा आंशिक रूपमा क्षति भएको छ।

पोखरा महानगरपालिका–१७ अधेरी कुना स्थित पोखरा बेँसीबाट अँधेरी कुना जाने भित्री सडक खण्डमा अँधेरी खोलाले कटान गरी पूर्ण रूपमा क्षति बनाएको छ।

बाढीले सडकमा पूर्ण रूपमा क्षति बनाउँदा उक्त सडक खण्ड हुँदै ग्रामीण क्षेत्रमा जाने सवारीहरू पूर्ण रूपमा रोकिएका छन्।

वर्षाकै क्रममा परेको चट्याङले पोखरा महानगरपालिका–२३ हर्पन बस्ने नर बहादुर क्षेत्रीको एउटा ब्याउने भैँसी मरेको छ। वर्षाकै कारण अन्नपूर्ण गाउँपालिका–५ शीतला गुफा नजिक पोखरा–बागलुङ सडक खण्डमा सडकमाथिबाट आएको पहिरो अवरोध गरेको बाटो एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

पहिरोका कारण सडक अवरुद्ध भएकोमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक रमेश थापाको कमान्डमा ४५ जना र मातहतका प्रहरी युनिटहरूबाट खटिएको प्रहरीले टोलीले पहिरो पन्छाएर बाटो एकतर्फी रूपमा सञ्चालनमा ल्याएको छ।

प्रकाशित मिति : १२ असार २०७९, आइतवार ०८:४५