सूचनाको शक्ति - The Power Of Information

        

जिल्ला प्रशासन कार्यालय बाँके

बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढदै

जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने

बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढदै गएको छ । खासगरी जिल्लामा लागुऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार चालु आवको असार पहिलो सातासम्म यस्ता अभियोगमा १८५ पक्राउ परेका छन् । ती मध्येमा १७५ पुरुष र १० महिला छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस अवसर पारेर यसको माग घटाउने अभियान र वितरणमा नियन्त्रण गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए ।

उनले लागुऔषधको कारोबार र सेवनलाई निरुत्साहित गर्न आवश्यक भएको उल्लेख गर्दै विद्यालय केन्द्रित कार्यक्रम र लागुऔषध जोखिम न्यूनीकरण गर्नुपर्छ भने ।

गत आर्थिक वर्षमा बाँकेमा कूल १९६ पक्राउ परेका थिए । ती मध्ये १८५ पुरुष र ११ महिला रहेकामा १२६ लाई मुद्दा चलाइएको थियो ।

पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिएको छ । गत वर्षभन्दा चालु आवमा नाइट्रोजन र ट्रामाडोल दोब्बर बढी पक्राउ गरिएको छ ।

गत आवमा ब्राउन सुगर ५७० ग्राम, चरेस २० दशमलव तीन केजी, अफिम ३४ दशमलव ५७४ केजी, गाँजा ६८ दशमलव ४३ केजी, कोरेक्स ३९ दशमलव चार लिटर, नाइट्रोजन एक हजार ३१० ट्याब्लेट र ट्रामाडोल एक हजार ७० ट्याब्लेट बरामद गरिएको  सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतवार ०८:४१