सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

एकीकृत समाजवादीले भन्यो, ‘नयाँ मन्त्रीको सपथमा ढिलाइ भए अपमान’

नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

शनिबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले अब प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पर्खिन नसक्ने भन्दै तत्काल पार्टीले सिफारिस गरेका नयाँ मन्त्रीहरूलाई सपथ गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादीबाट सिफारिस भएका व्यक्तिहरूको सपथमा ढिलाइ भए अपमानका रुपमा बुझिने बताए । उनले मन्त्री परिवर्तनको सूचीमा हेरफेर नहुने र यसअघि गरेको निर्णय हुबहु कार्यान्वयन हुने जानकारी दिए ।

मन्त्री हेरफेरका विषयमा कुनै माग कुनै सर्त वा कुनै निवेदनले काम नगर्ने भन्दै कुनै विषयमा छलफल गर्नुपर्ने भए बैठकमा नै छलफल हुने जिकिर गरे । बैठकले गठबन्धनलाई जोड दिँदै पारस्परिक लाभका आधारमा अन्य दलसँग सहकार्य गर्न गठबन्धन गर्न समाजवादी तयार भएको निष्कर्ष निकालेको छ ।

उनले देशको राजनीतिमा नयाँ शक्ति सन्तुलनमा देखा परेको र समाजवादीको भूमिका आवश्यक रहेको देखिएको निष्कर्ष रहेको बताए । बैठकमा आम निर्वाचनको तयारी गर्ने लगायतका विषय समेटिएको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको र केन्द्रीय परिषद्को बैठकमा समूहगत रुपमा छलफल हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार १९:५५