सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ५४ हजार बालबालिकालाई कोभिड खोप

५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सुरु गरिएको कोभिडविरुद्धको खोप अभियानमा प्रभावकारी भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सो कार्यालयका अनुसार सो अभियान सुरु गरिएको दुई दिनमै जिल्लामा लक्ष्यको आधाभन्दा बढीले कोभिडविरुद्धको फाइजर खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले खोप अभियान सुरु भएको दुई दिनमानै बाँकेका आठवटै पालिकामा ५९ दशमलव १ प्रतिशत बालबालिकाले खोप लगाएको बताए ।

श्रेष्ठका अनुसार बाँकेमा ७६ हजार २३९ जनालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा दुई दिनमै ५४ हजार ४१ जना लक्षित बालबालिकाले खोप लगाएका छन् ।

दुई दिनमै यति धेरै बालबालिकाले खोप लगाएपछि सो खोप लगाउनु पर्छ भन्ने चेतना सर्वसाधारणमा राम्ररी पुगेको पाइएको श्रेष्ठले बताए ।

जिल्लाका अधिकांश विद्यालयलाई खोप केन्द्र बनाएर खोप लगाउने कार्यक्रम चलिरहेको जनाउँदै स्वास्थ्य कार्यालयले खोप लगाउनेको संख्याले स्वास्थ्यकर्मीहरु उत्साहित भएको जनाएको छ ।

कोहलपुर नगरपालिकामा दुई दिनमै लक्षित मध्येका सत प्रतिशतले खोप लगाएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार १० हजार ३९१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकोमा कोहलपुरमा १० हजार ४२३ जनाले खोप लगाएका छन् ।

यहाँ अन्य जिल्लामा अध्ययन गर्ने र विदामा घर आएका बालबालिका समेत भेटिएकाले उनीहरुलाई पनि खोप लगाइएको हो ।

सोही प्रकारले जिल्लाको राप्तीसोनारीमा ५८.२ प्रतिशत, बैजनाथमा ६०.८ प्रतिशत, खजुरामा ५१.९ प्रतिशतले खोप लगाएका छन् भने जानकीमा ४५.१, नेपालगन्जमा ५७.४, डुडुवामा ३९.४ र नरैनापुरमा ४०.६ प्रतिशत बालबालिकाले खोप लगाएको जनाइएको छ ।

बाँके जिल्लामा उक्त खोप अभियान असार १२ गतेसम्म चल्ने जनाउँदै कोरोना फोकल पर्सन श्रेष्ठले सो अभियानअन्तर्गत ५ देखि ११ वर्षका कोही पनि बालबालिका नछुटुन भन्ने उदेश्य रहेको बताए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार १४:२३