सूचनाको शक्ति - The Power Of Information

        

समाचार

प्रतिलिटर ३० रुपैयाँले घट्दै पेट्रोलियम पदार्थको मूल्य

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । यस सम्बन्धी घोषणा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो ।

सोही निर्देशन तथा चौतर्फी विरोध भएपछि शनिबार गठबन्धन नेताहरूबीच मूल्य घटाउन सहमति भएको छ । सत्ता गठबन्धनको शनिबार बिहान बसेको बैठकले पनि पेट्रोलियम पदार्थमा लिइँदै आएको करमा छुट दिन सरकारलाई निर्देशन दिएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो । बैठकले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

‘बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जिविका सहज बनाउन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय भएको छ,’ मल्लले भने, ‘सरकारले आजैका दिन देखि पेट्रोलियम पदार्थमा लगाएका कर कटौती गरि लागू गर्नेछ ।’ उक्त निर्णय लागु भएपछि डिजेल र पेट्रोलको मुल्य प्रतिलिटर ३० रुपैयाँसम्म मुल्य घट्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार १२:२०