सूचनाको शक्ति - The Power Of Information

        

६ वटा प्रदेशमा फैलियो मनसुन

यस वर्षको मनसुन थप दुई प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको जानकारी दिएको हो ।

प्रदेश नं १ मा गत जेठ २२ र मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा जेठ २६ गते मनसुन प्रणाली प्रवेश गरेको थियो । अब मनसुन प्रवेश भएको प्रदेश ६ वटा पुगेको छ ।

देशका बाँकी रहेको भूभागमा केही दिनभित्रमा मनसुन प्रणाली प्रवेश हुने सम्भावना रहेको विभागले जनाएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भूभागमा प्रवेश गरेको थियो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने बताइएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार ०९:०६