नेपालगन्जमा खानेपानीका धारा सुकेका छन् । पछिल्लो समय बढ्दै गएको अत्याधिक गर्मीपछि धारा सुक्दा नेपालगन्जवासी थप पीडामा परेका छन् ।
पछिल्लो समयमा नेपालगन्जमा वर्षेनी पानीको अभाव बढ्दो क्रममा छ । ४०–५० फिट गहिराईमा पानी आउने नेपालगन्जमा अहिले यतिमा पानी भेटिन छोडेको छ । तल्लो सतहमै पानी भेटिन मुश्किल परिरहेको छ ।
बार्हैमास पानी आउने घरको धारा सुकेपछि स्थानीयवासी खानेपानी संस्थानको शरणमा पुगिरहेका छन् । संस्थानमा यतिबेला पानीको धारा जडान गरिदिन निवेदन दिने बढेका छन् । संस्थानले बिहान ६ देखि ९, दिउँसो १२ देखि १ र बेलुका ४ देखि ७ बजेसम्म पानी दिने गर्दछ ।
नेपालगन्जमा संस्थानको पानी पिउनेको संख्या अत्यन्त न्यून छ । धारा सुकेपछि बाध्य भएर स्थानीयवासी संस्थानको पानी लिन बाध्य भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको जनसंख्या एक लाख ३८ हजार ९५१ रहेको छ । यहाँ २८ हजार २०० घरधुरी छ ।
त्यसमध्येमा झण्डै पाँच हजार घरधुरीका ३० हजार मानिसले संस्थानको पानी पिउँछन् । संस्थानले दैनिक ६० लाख लिटर पानी छोडिरहेको छ । खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले ह्याण्डपाइप सुकेपछि संस्थानको पानी प्रयोग गर्ने बढेको बताए ।
उनका अनुसार, संस्थानले औद्योगिक क्षेत्र, गुरुद्वारा, नन्दनी मिल र कार्यालय परिसरमा रहेको बोरिङबाट निकालेर पानी सप्लाइ गरिरहेको छ । पानीको माग बढिरहेकाले परसपुर, वाटरपार्क, कारकादो, रानीतलाउमा बोरिङ सञ्चालन हुँदैछन् ।
नयाँ–नयाँ ठाउँमा बोरिङ गाडिरहँदा पुराना ठाउँका बोरिङ सुक्ने क्रम उत्तिकै छ । नेपालगन्जका आठ वटा बोरिङ सुकिसकेका छन् । सात सयदेखि एक हजार फिटसम्म गाडिएका बोरिङमा पानी आउन छोडेको छ । जहाँ पायो त्यही, जति गहिराईसम्म पुगे पनि पानी आउन छोडेको छ ।
यसले पनि नेपालगन्जमा पानीको सतह घट्दै र सुक्दै गएको देखाउँछ । नेपालगन्जमा काकाकुलको अवस्था आउन नदिन राप्ती नदीबाट पानी ल्याउने योजना अघि सारिएको थियो । तीन वर्षभित्रै पानी ल्याउने गरी आर्थिक वर्ष २०७४–०७५ बाट थालिएको काम अझै पूरा भएको छैन ।
३० करोडको राप्ती नदीबाट पानी ल्याउने योजना पूरा हुँदा र दैनिक दुई करोड पाँच लाख लिटर पानी दैनिक नेपालगन्जमा झार्दा छेलोखेलो पुग्ने विश्वास गरिएको छ । तर, योजना नै पूरा नहुँदा ‘आकाशको पल, आँखातरी मर’ भनेझै भएको छ ।
संस्थानका कार्यालय प्रमुख श्रेष्ठले एक वर्षमा पाइप विछ्याइसक्ने र तीन वर्षभित्रमा स्थानीयवासीको घरघरमा पानी पुर्याउने रणनीति पछि परेको बताए । कार्यालय प्रमुख श्रेष्ठले सरासर काम गर्न दिइने हो भने दुई महिनामै राप्ती नदीको पानी ल्याइसक्ने बताए ।
उनका अनुसार, डुडुवा नालामा ट्रष्टब्रिज, फूल्टेक्रा आर्मी ब्यारेकदेखि बागेश्वरी पानी ट्यांकीसम्मको तीन किलोमिटर तथा कारकाँदोको राधाकृष्ण मन्दिरदेखि कारकाँदो चोकसम्मको १५० मिटर बाटोमा पाइप विछ्याउन बाँकी छ । बाटो खन्नका लागि संस्थानले सडक विभागलाई एक लाख ३१ हजार र नेपालगन्ज उपमहानगरलाई नौ लाख ३१ हजार रुपैयाँ बुझाइसकेको छ ।
सत्यपाटी । बाँके ।