सूचनाको शक्ति - The Power Of Information

        

सर्पदंशको उपचार पद्धतीबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण नेपालगञ्जमा शुरु

सर्पदंश उपचार पद्धतीबारे चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि शुक्रबारदेखि नेपालगञ्जमा तीन दिने अभिमुखिकरण शुरु भएको छ ।

दाङ, बाँके र बर्दियाका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अभिमुखिकरणको आयोजना गरिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । अभिमुखिकरणको उदघाटन स्वास्थ्य कार्यालय बाँकेका बरिष्ठ जनस्वास्थ्य निरीक्षक सुनिता पौडेलले गरेका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको अभिमुखिकरणमा बिषालु सर्पको पहिचान, सर्पदंशपछिको प्राथमिक उपचार, आपत्तकालिन उपचारलगायतका बिषयमा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे, बरिष्ठ फिजिसियन डा संकेत रिसाल, फिजिसियन खगेन्द्र जंग शाह, एनेस्थेसियोलोजिष्टहरु डा कृष्णप्रसाद आचार्य, डा पारश पाण्डे र डा अभिषेक मोदनवाल, भेरी अस्पतालका अस्पताल नर्सिङ निरीक्षक बसन्धुरा ज्ञवालीलगायतले सहजिकरण गर्ने जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए ।

बर्षायाम शुरु भएपछि दाङ, बाँके, बर्दिया लगायतका जंगल क्षेत्रसँग जोडिएका जिल्लामा सर्पदंशको विगविगी हुने गरेको छ । समयै प्राथमिक उपचार पाए सर्पदंशकै कारण विरामीको मृत्यु नहुने एनेस्थेसियोलोजिष्ट डा पारश पाण्डेले बताए । कतिपय विरामीको आत्तिएरसमेत ज्यान जाने गरेको छ ।

यो क्षेत्रमा करिव १५–२० प्रतिशतमात्रै बिषालु सर्पहरु रहेका छन् । ति सर्पले डसेपनि समयमा उपचार गरे बिरामीको ज्यान जोगिने उनको भनाइ छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार १८:४८