मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी छिन् । स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरुङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गरेकी हुन् ।
‘ऊ वेला पढ्ने उमेरमा पाखपाखै दौडियो,’ उनी भन्छन्, ‘अहिले ढिलो भए पनि पढ्न रमाइलो भइरहेको छ ।’ विष्णुका श्रीमान् सुकबहादुर गुरुङ मोदी–८ कै वडाध्यक्ष हुन् । श्रीमती विद्यालयमा भर्ना हुनेबारे उनीहरूबीच सल्लाह भएको थिएन ।
आफू कार्यालयबाट फर्किएर घरमा पुग्दा पढेर आएको सुनाउँदा अचम्ममा परेको उनको भनाइ छ । शिक्षा आर्जन गर्नका लागि उमेरले केही गर्दैन भन्ने कुरा देखाउन पनि उनको कामले अरुलाई प्रेरणा मिल्ने सुकबहादुर बताउँछन् ।
‘स्कुल भर्ना हुन्छु भन्ने घर सल्लाह नै थिएन । वडाबाट फर्किँदा लौ म त कक्षामा १ मा भर्ना भएर आएँ, भन्नुभयो । म त अचम्ममा परेँ,’ उनले भने, ‘यसले अरू निरक्षर प्रौढलाई पनि राम्रो सन्देश जान्छ भन्ने लागेको छ ।’
आफ्ना नाति नातिनाले अध्ययन गर्ने तहमा बसेर उनीहरूसँगै खेल्दै रमाउँदै गरेर सिक्दा झनै रमाइलो हुने गरेको विष्णुको अनुभव छ । उनले भने, ‘गाउँमा कति हो कति पाहुना आउँछन्, लौ आमा यो पढ्नु, यो हेर्नुभन्दा मलाई केही पनि आउँदैन ।’
विष्णु जिल्लाको नमुना हामेस्टे रहेको चित्रेमा आएका धेरै पाहुनालाई खुवाउने, बसाउने र गाएर रमाइलो बनाउने गर्छिन् । ‘पाहुनाले केही पढ्न दियो भने आफूलाई केही पनि नआउने,’ उनी भन्छिन्, ‘मलाई त रमाइलो भइरहेको छ । मेरै कक्षामा पढ्ने नाति नातिनातिना पनि आमा भन्दै झुम्मिन आउँछन् । उनीहरूले पनि नजानेको कुरा सिकाउँछन् ।’
विष्णु भर्ना भएसँगै विद्यालयमा वातावरण रमाइलो बनेको र अरू साना उमेरका विद्यार्थीहरू पनि सिकाइको लागि उत्प्रेरित भएको विद्यालयका प्रधानाध्यापक एकनारायण तिमिल्सिना बताउँछन् । पुराना पुस्ताका व्यक्तिहरूले अझै पनि अध्ययनमा चासो देखाउनुले समाजमा पठन संस्कृतिको विकास हुने र त्यसले हरेक विद्यार्थीलाई अध्ययनशील बनाउने उनको भनाइ छ ।
यो उमेरमा विद्यालय जाँदा कुनै संकोच नलागेको बताउने विष्णु अध्ययनले आफूमा निखार ल्याइरहेको बताउँछिन् । आफू समाजमा उदाहरण बन्ने प्रयास गरेको र अन्य धेरै निरक्षरको प्रेरणा बन्न खोजेको उनको भनाइ छ ।
सत्यपाटी । पर्वत ।