सरकारी तथ्यांक अनुरूप हरेक वर्ष आन्तरिक श्रम बजारमा पाँच लाख युवाहरू आउने गर्छन् । तर सरकारले गरी खाने ठाउँ दिन नसक्दा विकल्पको रुपमा वैदेशिक रोजगारीमा जान ती युवा वाध्य छन् । तर विदेशको रोजगारी न सहज छ, न सुरक्षित ।
वाध्यात्मक रोजगारीको उपमा पाएको वैदेशिक रोजगारीलाई अपनाउने क्रममा पहिलो चरणबाटै पीडित हुन थाल्छन् । आकर्षक प्रलोभन देखाएर विदेश पठाउने एजेण्टहरूमा गाउँ तथा सहरबजार तिर छ्यापछ्याप्ती फैलिएका छन् । उनीहरू कै आड र भरोसामा गाउँबाट सहरमा आइपुग्छन् र ठगिन्छन्, जेनतेन विदेशमा पुगे भने त्यहाँ अलपत्र पर्छन् ।
कञ्चनपुर वैवाहा–३ का जम्ल्याहा दाजुभाइ राम चौधरी र लक्ष्मण चौधरी पनि विदेश पठाउने नाममा लाखौं रुपैयाँ ठगिएका मध्येका हुन् । विदेश पठाउने नाममा उनीहरूबाट ४० लाख रुपैयाँ ठगियो । यस्तै, नुवाकोट मेगाङका ४० वर्षीया धनमाया तामाङ र ३६ वर्षीया कामी लामालाई समेत विदेश पठाउने नाममा ९ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरियो ।
मासिक सयौँ ठगीका उजुरी लिएर युवाहरू वैदेशिक रोजगार विभाग तथा प्रहरीकोमा पुग्ने गरेका छन् । विदेश पठाउने नाममा हुने ठगी रोक्न समेत सरकारलाई कठिन भइ सकेको छ । ठगीभन्दा पनि भयावह छ वैदेशिक रोजगारीमा हुने मृत्यु । वैदेशिक रोजगारीको नाममा भएको मृत्युलाई रोक्न सरकारले ध्यान पनि दिएको छैन ।
यसले गर्दा हरेक वर्ष सयौँ नेपालीहरूले युवाहरूले वैदेशिक रोजगारीको नाममा विदेश र स्वदेशमा मृत्युको मुखमा पुगिरहेका छन् । वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकको पहिचान बनाएको खाडीका छ राष्ट्रहरू कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएइ), कुवेत र बहराइन तथा मलेसियामा सबैभन्दा बढी युवाहरूले ज्यान गुमाइरहेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक अनुरूप साउदी अरब ३६८, कतार २७१, संयुक्त अरब इमिरेटस (यूएइ) १८७, कुवेत ५५, बहराइन २३ र ओमन १३ जना युवाहरूले ज्यान गुमाएका छन् । त्यस्तै मलेसियामा ३८८ जनाले युवाहरूले ज्यान गुमाएका छन् । सरकारी तथ्यांक अनुरूप सबैभन्दा धेरै साउदी अरबमा युवाहरूले ज्यान गुमाएका छन् ।
त्यसपछि समग्रमा कतार, युएइ, कुवेत, बहराइन लगायतका मुलुकमा युवाहरूले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीको क्रममा युवाहरूले खाडी मुलुकबाहेकका अन्य मुलुकमा समेत ज्यान गुमाएका पनि त्यहाँको तुलनामा कम नै छ । मलेसियामा पनि नेपाली युवाहरूको लागि असुरक्षित हो । हालसम्म चार हजारभन्दा बढी युवाहरूले मलेसियामा ज्यान गुमाई सकेका छन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूले युवाहरूको वैदेशिक रोजगारी सुरक्षित नरहेको बताउँदै आए पनि सरकारले त्यसलाई वेवास्ता गर्दै आएको छ । अन्तर्राष्ट्रिय संघ संस्थाहरूले पनि आप्रवासी कामदारहरूको लागि खाडीका ६ मुलुक र मलेसिया असुरक्षित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । तर, नेपाल सरकार, खाडी तथा मलेसियाका सरकारहरू नेपाली तथा आप्रवासी कामदारको मृत्यु रोक्नका लागि खासै काम गरेको पाइँदैन ।
एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुरूप कतार नेपाली तथा आप्रवासी कामदारको लागि सुरक्षित नभएको तथा रोक्न सक्ने मृत्युलाई समेत नरोकेको बताएको छ । एम्नेस्टीको प्रतिवेदनले कतारमा कार्यरत दुई सय जना नेपाली कामदारको मृत्युलाई रोक्न सक्ने अवस्था भएपनि त्यसलाई नरोकेको बताएको छ ।
कार्डियोलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ मा गरिएको एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृत्युबीचको सम्बन्ध रहेको कुरा पत्ता लगाएको थियो । ‘सन् २००९–२०१७ को अवधिमा भएको ५७१ जना नेपाली आप्रवासी श्रमिकहरूको मुटुको समस्याको कारणले भएका मृत्युमध्ये दुई सय जना जतिको मृत्युलाई रोक्न सकिन्थ्यो’ भन्ने उक्त अध्ययनले निष्कर्ष निकालेको थियो ।
अकाल मृत्यु र असुरक्षित काम गर्ने वातावरणबीच सम्बन्ध रहेको प्रमाण हुँदाहुँदै पनि कतारी अधिकारीहरूले गएको दशकमा भएका हजारौं आप्रवासी श्रमिकहरूको मृत्युको अनुसन्धान नगरेको कुरा एम्नेस्टीले सार्वजनिक गरेको हो । एम्नेस्टी इन्टरनेसनलले सन् २०१७ देखि २०२१ को बीचमा कतारले जारी गरेको आप्रवासी श्रमिकहरूका लागि १८ जनाको मृत्यु प्रमाणपत्रको समीक्षा गर्यो ।
तीमध्ये १५ वटाले मृत्युको मुख्य कारणहरूबारे कुनै जानकारी दिएनन्, त्यसको सट्टा ‘हृदयघात प्राकृतिक कारण’, ‘हृदयघात निर्दिष्ट नगरिएको’ र ‘प्राकृतिक कारणहरूले गर्दा श्वासप्रश्वास सम्बन्धी विफलता’ जस्ता शब्दहरू प्रयोग गरिएका छन् । जुन आपत्तिजनक रहेको छ । आधिकारिक कतारी तथ्याङ्कले देखाएअनुसार सन् २०१० देखि सन् २०१९ को बीचमा सबै उमेर र पेशा समूहका १५ हजार २१ जनाभन्दा बढी गैरकतारीको मृत्यु भएको छ ।
तर अनुसन्धानको अभावमा मृत्युको कारणहरूको तथ्याङ्क अविश्वसनीय रहेको कुरा एम्नेस्टीले अभिलेखिकरण गरेको छ । कतारको तथ्याङ्कमा धेरै मृत्युलाई ‘मुटुसम्बन्धी रोगहरू’ को रूपमा वर्गीकरण गरिएको तथ्यले यथार्थमा कारण नखुलाइएका धेरै मृत्युहरूलाई ओझेलमा पार्न गरेको छ । दक्षिण एसियाली देशहरूबाट आउने अधिकांश आप्रवासी श्रमिकहरूको मृत्युको तथ्याङ्कमा पनि यो कुराको संकेत गरिएको एम्नेस्टीले भनेको छ ।
जसले गर्दा नेपालीहरू पनि कतारमा प्रभावित भएको स्पष्ट देख्न सकिन्छ । यति हुँदाहुँदै पनि अर्थात् ज्यान जोखिममा छ भनी थाहा पाएर पनि नेपाली युवाहरू वाध्यतावश कामका लागि विदेश गएका छन् । सरकारी तथ्यांक हेर्दा पनि कहालीलाग्दो अवस्था नै छ । वैदेशिक रोजगार बोर्डका अनुसार विगत १४ वर्षको अवधिमा ९ हजार २३७ जना नेपाली युवाहरूले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।
विदेशमा रहेका युवाको हृदयघात, सडक दुर्घटना, आत्महत्या र कार्यस्थल दुर्घटना मुख्य कारणले गर्दा ज्यान जाने गरेको छ । आर्थिक वर्ष (चैत आधासम्ममा) २०७८–०७९ मा १ हजार २४३ जना आर्थिक वर्ष २०७७–०७८ मा १ हजार ७३ जना, आर्थिक वर्ष २०७६–०७७ मा ६७१ र २०७५–०७६ मा ७६३ को विदेशमा युवाहरूको ज्यान गएको सरकारी तथ्यांक रहेको छ । आर्थिक वर्ष २०७१–०७२ मा एक हजार छ जना, २०७२–०७३ मा ८१६ जना युवाको विदेशमा ज्यान गएको छ ।
आर्थिक बर्ष २०७३–०७४ मा ७५६ जना, २०७४–०७५ मा ८२२ जना र युवाको विदेशमा ज्यान गएको छ भने आर्थिक वर्ष २०६५–०६६ मा ७७ जना युवाको ज्यान गएको छ । यतिबिघ्न समस्या हुँदाहुँदै पनि सरकारले वैदेशिक रोजगारीको लागि व्यवस्थित बनाउने सकेको छैन । जसले गर्दा अदक्ष कामदार विदेश जान रोकिएको छैन । सरकारले करिब १२० वटा मुलुक वैदेशिक रोजगारीको लागि खुला गरेको छ भने संस्थागत श्रम स्वीकृतिका लागि भने १०८ वटा मुलुकहरू खुला गरेको छ ।
सत्यपाटी । काठमाडौं ।