सूचनाको शक्ति - The Power Of Information

        

देशैभर प्रशिक्षण अभियान चलाउन प्रशिक्षक तयार गर्दै राप्रपा

राप्रपाले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न केन्द्रीय प्रशिक्षक प्रशिक्षण गर्ने भएको छ।

शनिबारदेखि काठमाडौंमा हुने प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट नेताहरू सहभागी हुने भएका छन्।

वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा  देशभरका कार्यकर्तालाई प्रशिक्षित गर्न लागिएको उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख ध्रुबबहादुर प्रधानले बताए।

आइतबारसम्म चल्ने प्रशिक्षक प्रशिक्षणमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको अबको रणनीति विषयमा प्रशिक्षण दिनेछन्।

उपाध्यक्ष ध्रुबबहादुर प्रधान, गीताभक्त जोशी, पूर्वमन्त्री निरञ्जन थापा, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, प्रवक्ता भक्तिप्रसाद सिटौला, सहायक महामन्त्री रमानन्द न्यौपाने, केन्द्रीय सदस्य राजेश गिरी, अष्ट्रेलियाका लागि नेपालका पूर्वराजदूत महेश दाहाल, आइटी विज्ञ विप्लवमान सिंह, रविन कटुवालले विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रमपछि प्रदेश तहमा प्रशिक्षण सञ्चालन गर्ने, भ्रातृ संगठनलाई प्रशिक्षण दिने, जिल्ला र क्षेत्रीय तहसम्म प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने विभागको तयारी छ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ०९:५३