सूचनाको शक्ति - The Power Of Information

        

बाघ आतंक

पाँच बर्षमा बाँके र बर्दियामा बाघको आक्रमणबाट २९ को मृत्यु

गत पाँच वर्षको अवधीमा बर्दियामा २३ र बाँकेमा ६ जना गरेर २९ जनाको मृत्यु भएको हो ।

गत पाँच वर्षमा बाघको आक्रमणबाट बाँके र बर्दियामा २९ जनाको मृत्यु भएको तथ्याङ्क छ । बाँके र बर्दिया निकुञ्जले दिएको जानकारी अनुसार गत पाँच वर्षको अवधीमा बर्दियामा २३ र बाँकेमा ६ जना गरेर २९ जनाको मृत्यु भएको हो ।

दुबै निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै बाघ आक्रमणका घटना पनि बढ्दै जाँदा मृत्यु हुने क्रम पनि बढेको जनाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले गत पाँच वर्षको अवधिमा बर्दियामा मात्र बाघको आक्रमणबाट २३ जनाको मृत्यु भएको जनाउँदै यो मृत्यु पछिल्लो तीन वर्षमा भएको बताए ।

पछिल्लो समय बाघको सङ्ख्या बढेको, वन अतिक्रमण बढेको र भौतिक पूर्वाधारको विकासले बाघको वासस्थान खण्डित हुँदै गएकोले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्यो । उनले चालु आर्थिक वर्ष २०७८–०७९ मा ५ जना, २०७७–०७८ मा सबैभन्दा बढी १२ जना र २०७६–०७७ मा ६ जना गरेर २३ जनाको ज्यान गएको बताए ।

त्यसअघिका दुई वर्षमा बाघको आक्रमणबाट कसैको पनि ज्यान नगएको निकुञ्जले जनाएको छ । पछिल्लो समय बाघको सङ्ख्या बढेको, वन अतिक्रमण बढेको र भौतिक पूर्वाधारको विकासले बाघको वासस्थान खण्डित हुँदै गएकोले मानव र बन्यजन्तुबीच द्वन्द्व बढेको बर्दिया निकुञ्जका प्रमुख श्रेष्ठको भनाइ छ ।

उनले मानव र बन्यजन्तुबीचको द्वन्द्व घटाएर दुबैको सहअस्तित्व कायम गर्नका लागि निकुञ्जले नेपालमै पहिलो पटक पाँच वर्षीय रणनितीक योजना बनाएर काम सुरु गरिसकेको बताए । सन् २००९ को गणनामा बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १८ वटा बाघ पाइएकोमा २०१८ मा उक्त सङ्ख्या ८७ पुगेको थियो ।

बाँकेमा पनि गत पाँच वर्षको अवधीमा बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी कुमनारायण चौधरीले देशकै कान्छो निकुञ्जमा पाँच वर्षको अवधिमा ६ जनाको मृत्यु भएको बताए । चालु आर्थिक वर्षमा बाघको आक्रमण सबैभन्दा बढी भएको पनि उनले बताए ।

बाँकेमा सन् २०१८ को गणना अनुसार २१ वटा बाघ रहेकोमा २०२२ मा गरिएको गणनामा सो सङ्ख्या उल्लेख्य रुपमा वृद्धि हुने देखिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । पछिल्ला केही वर्षहरुबाट बाघ र मानव द्वन्द्व बढ्दै जाँदा बर्दियाबाट मानव आक्रमणमा संलग्न छ वटा र बाँकेबाट एउटा बाघलाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार १५:५०