सूचनाको शक्ति - The Power Of Information

        

खडेरीले सल्यानमा खेतमै सुक्यो धानको ब्याड, कृषक चिन्तित

सल्यान जिल्लामा लामो समयसम्म परेको खडेरीका कारण वर्षेबाली सुक्न थालेको छ । खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित भएका छन् ।

खडेरीका कारण कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी बारीमै सुक्न थालेको छ । पानी नपरेका कारण खोलानाला सुक्न थालेका छन् । धानको ब्याडमा समेत पानी हाल्न समस्या भएको किसानले बताएका छन् ।

मकै गोडमेल तथा धान रोप्ने समयमा खडेरी परेपछि उत्पादन घटने चिन्ता हुन थालेको बनगाड कुपिण्डे नगरपालिकाका नवीन पुनले बताए । ‘मकैँ गोडमेल गर्ने बेला भएको छ, पानी नपर्दा सुक्न थालेको छ, बोट सुक्ने डरले कतिपयले गोडमेल नै गर्न छोडिसके,’ उनले भने, ‘दिनभरको घामले बोट सुक्न थालेका छन् ।’

छत्रेश्वरी गाउँपालिकाका गणेश नेपाली पनि खडेरीले धानको बेर्ना सुक्न थालेको बताउँछन् । ‘रोपाइँ गर्ने बेला भइसक्यो, पानी पर्ला र बेलैमा खेती लगाउन पाइएला भनेको पानी पर्ने छाँटकाँट छैन,’ उनले भने । खोलाका मुहानतिर खेत भएका केहीले रोपाई गरे पनि अन्यले आकासे पानी पर्खेर बसेको उनको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लाभर करिब सात हजार हेक्टरमा धानखेती हुँदै आएको छ । करिब १९ हजार हेक्टरमा मकै र ६०० हेक्टरमा कोदोखेती गरिँदै आएको पनि जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । समयमा पानी नपर्दा खाद्यान्न उत्पादनमा कमी आउने देखिएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार ०९:०३