जुम्लामा नुन अभाव देखिएको छ । कर्णाली राजमार्ग सञ्चालन हुँदा पछिल्लो समय यो समस्या टरेको भए पनि अहिले नुनको अभाव भएको साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले बताए ।
१५ वर्षको अन्तरालपछि जुम्लाका नुनका गोदाम रित्तिएका हुन् । जुम्लामा २०६३ साल चैत ३० गते गाडी पुगेको थियो । कर्णाली राजमार्ग पुग्नुभन्दा पहिला जुम्लामा नुनको विषयमा राजनीतिक खिचातानी गरिन्थ्यो ।
सडक विस्तारसँगै पहुँचवालाले मात्र नुन पाउने अवस्था अन्त्य भइ सहजै उपभोक्ताले नुन पाउने अवस्था भएको थियो । कार्यालयका प्रमुख मल्लले जुम्लामा भरिभराउ नुनका गोदाम रित्तिएको बताए । उनका अनुसार सडक पुगेपछि पहिलो पटक नुन अभाव भएको हो ।
जुम्लामा तीन वटा डिपो छन् । खलंगास्थित डिपोमा १७९ क्विन्टल मात्र नुन मौज्दात छ । मौज्दात हेर्दा असार अन्तिमसम्म पनि पुर्याउन सकिने अवस्था नरहेको प्रमुख मल्ल बताउँछन् । दैनिक नुन लिने सेवाग्राही डेढ सय जति पुग्छ छन् ।
मल्लका अनुसार प्रतिव्यक्ति पाँच केजी मात्र नुन दिने प्रवन्ध गरिएको छ । हप्ताको तीन दिन डिपो खुलाउने गरिएको छ । आइतबार, मंगलबार र बिहीबार नुन दिइन्छ । चालु आर्थिक वर्षमा जुम्लाको लागि ३ हजार क्विन्टल नुनको कोटा तोकिएको थियो ।
कोटा अनुसारको नुन समयमै पुगेर बिक्री भइसकेको छ । प्रदेश कार्यालयले नुनको अभावलाई मध्यनजर गर्दै २ हजार ३०० क्विन्टल कोटा थपेको छ । तर नुनको ढुवानी गर्ने जिम्मेवारी पाएको ठेकेदारले ढुवानी गर्न मानिरहेको छैन् ।
नेपालगन्जका ठेकेदार तुरुणध्वज खाणले नुन ढुवानीको जिम्मेवारी पाएका छन् । ठेकेदारसँग प्रतिकेजी ६ रुपैयाँमा ढुवानी गर्ने सम्झौता गरिएको छ । अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ढुवानीको भाडा बढेको छ ।
बढेको भाडामा ढुवानी गर्दा ठेकेदारलाई प्रतिट्रिप १७ हजार रुपैयाँ घाटा हुने देखिन्छ । ठेकेदारले अहिले बढेको महँगीको आधारमा ढुवानी भाडा वृद्धि हुनुपर्ने अडान राखेका छन् । नत्र सम्झौता अनुसारको मूल्यमा नुन ढुवानी गर्न असमर्थ जनाएका छन् ।
अहिले जुम्लाको सिंजा गाउँपालिकामा अवस्थित नराकोट डिपो खाली भइसकेको छ । नुन लिन गएका सेवाग्राही रित्तो हात फर्किने गरेका छन् । बजारको महंगो नुन किन्नुपर्ने बाध्यता आइलागेको स्थानीय बसन्ती बुढाको गुनासो छ ।
कनकासुन्दरी डिपोमा २३४ क्विन्टल नुन मौज्दात रहेको छ । मौज्दात रहेको नुन जेनतेन यो महिना पुग्ने कार्यालय प्रमुख मल्लको भनाइ छ । अर्को महिनादेखि सबै गोदाम खाली हुने अवस्थामा छन् । जुम्लामा एक नगरपालिकासहित ७ गाउँपालिका छन् ।
नगरपालिकासहित ५ पालिकाले सदरमुकाम खलंगाको डिपोबाट नुन लिन्छन् । कनकासुन्दरी, सिंजा र हिमाका स्थानीयले नराकोट र कनकासुन्दरी डिपोबाट नुन उपयोग गर्छन् । साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मनोजकुमार चौधरीले जुम्लाबाहेक कर्णालीका हुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लामा नुनको अभाव नभएको बताए ।
सत्यपाटी । जुम्ला ।