सूचनाको शक्ति - The Power Of Information

        

निकुञ्जको हिरासतबाट भागेका शिकारी अझै फरार

शिकारी भगाउने कर्मचारीलाई नै छानविनको जिम्मा, कसलाई होला कारबाही ?

निकुञ्ज स्रोतका अनुसार पल्ली मगरलाई हिरासतबाट भगाउने घटनामा निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साह, सहायक संरक्षण अधिकृत पुण्डनारायण चौधरी र रेन्जर यमराज रावत संलग्न थिए ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह लगायतका कर्मचारीको मिलेमतोमा हिरासतबाट भगाइएका शिकारी अझै फरार रहेका छन् ।

निकुञ्जभित्र बन्दुकसहित सैनिक पोसाकमै समातिएका शिकारीलाई कर्मचारीको मिलेमतोमा निकुञ्जकै हिरासतबाट भगाइएका कोहलपुर नगरपालिका–१३ सिम्रीका ५४ वर्षीय बलबहादुर पल्ली मगर अझै फरार रहेका छन् ।

शिकारी पल्ली मगरलाई गत जेठ २७ गते बाँके राष्ट्रिय निकुञ्जको नेपाली सेनाको टोलीले सैनिक पोसाकमै बन्दुकसहित पक्राउ गरी निकुञ्जको हिरासतमा राखेको थियो । उनी नेपाली सेनाको कम्ब्याट ड्रेसको टि–सर्ट र हाफपाइन्टमा पक्राउ परेका थिए ।

बाँके राष्ट्रिय निकुञ्जको प्रगतिनगर पोष्टबाट निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीले सोधपुछका क्रममा मध्यवर्ती क्षेत्रको बैनी इलाकाको रुखको टोड्कोमा बन्दुक फेला पारेपछि वन्यजन्तुको शिकार गर्न हिँडेका पल्लीलालई पक्राउ गरेको थियो ।

पक्राउ परेलगत्तै वन्यजन्तु शिकारी पल्ली पक्राउ परेसँगै एउटा गिरोह उनलाई ‘सेटिङ’मै छुटाउने प्रयासमा लाग्यो । तर, सेनासहितको गस्ती टोलीले पक्राउ परेकाले निकुञ्ज प्रशासनले शिकारी पल्लीलाई यत्तिकै छाड्ने हिम्मत गरेन ।

शिकारीको गिरोह र निकुञ्ज प्रशासनबीच बनेको योजना अनुसार पल्लीलाई हिरासतबाट भगाउने घटनामा निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साह, सहायक संरक्षण अधिकृत पुण्डनारायण चौधरी र रेन्जर यमराज रावत संलग्न रहेको निकुञ्ज स्रोत बताउँछ ।

उनीहरु तीन जना र शिकारीको गिरोहबीच मोटो रकम लेनदेन भएपछि पल्लीलाई हिरासतबाट भगाइएको निकुञ्जका एक कर्मचारीले नाम सार्वजनिक नगर्ने शर्तमा बताए । ‘श्याम, पुण्डनारायण र यमराज सरको मिलेमतोमा शिकारीलाई भगाइएको हो,’ ती कर्मचरीले भने ।

ती कर्मचारीका अनुसार पल्ली पक्राउ परेपछि शिकारीको गिरोह निकुञ्जको कार्यालयमै आएको थियो । ‘हिरासतबाट फरार रहेका शिकारी पल्लीमगर अझै पक्राउ परेका छैनन् । यस घटनाको निष्पक्ष छानबिन भयो भने उहाँहरु बच्ने आधार नै छैन,’ कर्मचारी स्रोतले भन्यो ।

शिकारी पल्ली मगरलाई छाड्न निकुञ्जका प्रमुख संरक्षण अधिकृत, कर्मचारी र शिकारीको गिरोहबीच लेनदेनमा कुरा मिलेपछि हिरासत कक्षको ढोकाको लक लुज बनाइयो । त्यसरात हिरासत कक्षमा डियुटी नै नराखिएको निकुञ्ज स्रोतको दावी छ ।

स्रोतका अनुसार हिरासत कक्षको ढोकाको ताला लगाउने लकको नट र बोल्ट ढोकाको भित्रको भागमा छ, जहाँ थुनुवा राख्ने गरिन्छ । पल्लीलाई भगाउने योजनामुताविक २७ गते राति ढोकाभित्र रहेका नट रेन्चले लुज बनाइयो ताकि भित्रबाट नट खोलेपछि बाहिरको लक सजिलै खुलोस् ।

नट लुज बनाउने कार्यमा रेञ्जर रावत स्वयम् संलग्न भएको बताइन्छ । स्रोतका अनुसार २७ गते राति हिरासत कक्षमा राजु विक नामका कर्मचारीको ड्युटी थियो । विक ड्युटी गर्न हिरासत कक्षमा गएका पनि उनलाई त्यसदिन ड्युटी नगर्न भनियो ।

प्रमुख संरक्षण अधिकृत साहको निर्देशनमा रेन्जर रावतले ‘आज डियुटी गर्न पर्दैन,’ भन्दै विकलाई फर्काइदिएका थिए । विकलाई फर्काएपछि रेन्जर रावत हिरासत कक्षमा पसेर ढोकाको लकको बोल्ट रेन्चले खोलेर लुज बनाइदिएको निकञ्ज स्रोतले बतायो ।

‘रावत सर हिरासतभित्र गएर रेन्चले ढोकाको लकको बोल्ट लुज बनाएर बाहिर आउनुभयो,’ स्रोतले भन्यो, ‘भित्रबाट बोल्ट लुज भएपछि त्यसलाई हातले निकालेर ढोका खोली पल्ली भागे । त्यसदिन हिरासत कक्षमा रहेको च्यानल गेटमा समेत ताला लगाइएको थिइएन ।’

निकुञ्ज स्रोतले दिएको ढोकाको नटबोल्ट लुज भएका, ड्युटी नराखिएको र च्यानल गेटमा ताला नलगाइएको सूचनालाई निकुञ्जका सहायक संरक्षण अधिकृत पुण्डनारायण चौधरीले पुष्टि गरेका छन् । ‘ढोकाको भित्र रहेको नट बोल्ट अलि लुज रहेछ,’ चौधरीले भने ।

उनका अनुसार च्यानल गेटमा ताला पनि लगाइएको रहेनछ । ‘त्यसैले शिकारी पल्ली सजिलै भाग्यो,’ चौधरीले भनेका थिए । उनले आफूले २८ गते बिहान २ बजेमात्रै हिरासतबाट शिकारी भागेको खबर पाएको बताए । चौधरीले यस विषयमा निकुञ्जले छानबिन गरिहेको बताए ।

हिरासतबाट शिकारी भागेको घटनालाई गुपचुप राख्न निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले सुरुमा पल्ली पक्राउ परेको र हिरासतमै रहेको दावी गरे । निकुञ्जबाट शिकारी पक्राउ गर्नुभएको हो ? भन्ने प्रश्नमा साहले भनेका थिए, ‘हो, पल्ली पक्राउ परेको छ । हाम्रै हिरासतमा छ ।’

उनले ४५ दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्ने बताएका थिए । साहले पल्ली हिरासतमै रहेको बताएपछि उनलाई फेरि प्रश्न गरियो, ‘पल्ली त फरार भएका छन् रे नि ?’ यो प्रश्नपछि साह केही केही आत्तिएर भनेका थिए, ‘हो, फरार भएको छ । छानबिन भइरहेको छ ।’

निकुञ्ज स्रोतका अनुसार प्रमुख संरक्षण अधिकृत साहले शिकारी भगाउने योजनाकारका सदस्य निकुञ्जका सहायक संरक्षण अधिकृत पुण्डनारायण चौधरीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् । ‘छानबिन समिति त गठन गरिएको छ,’ स्रोतले भन्यो ।

स्रोतले यो सबै आफूहरुले उन्मुक्ति पाउने बहानामात्रै भएको बताउँदै भन्यो, ‘घटनामा मुछिएका व्यक्तिलाई नै छानबिन समितिको संयोजक बनाएर निष्पक्ष छानविन हुन्छ भन्नेमा विश्वस्त हुने आधार छैन । यो सबै आफूहरुले उन्मुक्ति पाउन रचिएको नाटक मात्रै हो ।’

निकुञ्ज स्रोतका अनुसार छानबिन समिति आफूहरु बच्ने हतियार मात्रै हो । ‘उनै कर्मचारीले भगाउँछन्, अनि उनैले कसरी छानविन गर्छन् ? कर्मचारी आफैं बोक्सी, आफैं धामी भएर निष्पक्ष छानविन हुने कुनै आधार छैन,’ स्रोतले भन्यो ।

प्रमुख संरक्षक अधिकृत साहले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै ती शिकारी कसरी फरार भए भन्ने विषयमा अनुसन्धान तथा खोजी भइरहेको बताए । निकुञ्जले फरार रहेका पल्ली मगरको परिवारलाई पनि निगरानीमा राखेर खोजतलास भइरहेको पनि जनाएको छ ।

यो पनि पढ्नुस् :

बाँके निकुञ्जमा शिकारी फरार प्रकरण : निकुञ्ज प्रमुखकै मिलेमतोमा पक्राउ परेका शिकारी हिरासतबाटै फरार

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार ०७:५१