सूचनाको शक्ति - The Power Of Information

        

अग्रलेख

स्लिम बन्न लागूऔषध प्रयोग, दुर्व्यसनको दलदलमा युवा

कोभिड–१९ पछि लागूपदार्थ दुर्व्यसनको दलदलमा फस्ने युवाहरूको यो संख्या झन् बढेको छ ।

गत जेठ २५ गते लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा नागढुङ्गामा तीन जना युवालाई लागूपदार्थसहित पक्राउ गरेको थियो । त्यसैको भोलिपल्ट २६ गते पनि प्रहरी टोलीले पोखरा नयाँबजारमा तीन जना व्यक्तिलाई लागूपदार्थसहित समात्यो । कास्की प्रहरीले यस वर्ष २०७८–०७९ को जेठ मसान्तसम्म मात्र २२३ वटा लागूऔषध सेवन, पटके तथा कारोबारको मुद्दा दर्ता गरेको छ ।

पक्राउ पर्नेमा ३०९ जना पुरुष र महिला १३ जना छन् । अघिल्लो आर्थिक वर्षमा जम्मा १४९ मुद्दा दायर भएको थियो । नेपाल सरकार गृह मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागको प्राविधिक सहयोगमा वि.सं. २०७६ मा गरेको सर्वेक्षणमा नेपालभर १ लाख ३० हजार ४२४ जना लागूऔषध प्रयोगकर्ता रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । जसमा पुरुष १ लाख २१ हजार ६९२ (९३.३ प्रतिशत) र महिला ८ हजार ७३२ (६.७ प्रतिशत) रहेका थिए । यो सर्वेक्षण प्रतिवेदनले लागूऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशत रहेको बताएको थियो ।

नेपालमा वि.सं. २०६३ मा गरिएको सर्वेक्षणमा लागू औषध प्रयोगकर्ताको संख्या ४६ हजार ३०९ थियो । त्यो संख्या वि.सं. २०६९ मा आइपुग्दा ९१ हजार ५३४ पुगेको थियो । प्रतिवेदन अनुसार सबैभन्दा धेरै लागूऔषध प्रयोगकर्ता बाग्मती प्रदेशमा रहेका छन् भने ८ हजार ९५६ जना लागूऔषध प्रयोगकर्ता रहेको गण्डकी प्रदेश पाँचौ स्थानमा छ । लागूऔषध दुर्व्यसन न्यूनीकरणको क्षेत्रमा कार्यरत संघसंस्थाहरूका अनुसार कोभिड–१९ पछि यो संख्या झन् बढेको छ । लागूपदार्थ दुर्व्यसनको दलदलमा फस्ने युवाहरूको सङख्या बढ्दो छ ।

साथी संगतले दुर्व्यसनमा युवा

युवामाझ लोकप्रिय पोखराका गायक तथा र्‍यापर आशिष राना ‘लाउरे’ गत पुस १४ गते लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका थियो । ५६ दिन प्रहरीको हिरासतमा बसेर तारेखमा कारागरबाट निस्किए । साथीको लहलहैमा नै उनले लागूऔषधको स्वाद लिए । र त्यसपछि झण्डै १० वर्षसम्म लागूऔषधको दुर्व्यसनमा रहे । लाउरेले भने, ‘हरेकपल्ट ड्रग यूज गर्दा अब छोड्छु भन्ने नै लाग्थ्यो तर सकिन । साथीसंगत त्यस्तै किसिमको भएपछि छोड्न सकिँदो रहेनछ ।’

अहिले प्रहरीसँगको सहकार्यमा लागूऔषध दुर्व्यसनीविरुद्धको जनचेतनामूलक कार्यक्रममा उनी सरिक हुन् । र्‍यापर रानाको अग्रसरता र कास्की प्रहरीसँगको सहकार्यमा आउँदो २६ जुनमा रहेको लागूऔषध दुरुपयोग तथा अवैध ओसारपोसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा ‘आई डेयर, नो ड्रग्स’ भन्ने नारासहित पोखरामा सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएकोे छ ।

लागूऔषध दुर्व्यसन न्यूनीकरणको क्षेत्रमा रहेको संस्था रिकभरिङ नेपाल गण्डकी प्रदेशका संयोजक विकास बरुवालले विशेषतः १३, १४ वर्षको उमेरमै खराब साथीको संगतमा पर्दा किशोरअवस्थामा नै लागूऔषध प्रयोगको दुर्व्यसनमा फस्ने गरेको बताए । चुरोट, गाँजाबाट सुरु हुँदै औषधिजन्य लागू औषध ‘हार्ड ड्रग्स’तर्फ लाग्ने गरेको बरुवालले बताए ।

नेपाल सरकारको २०७६ को प्रतिवेदनले नै ९६ प्रतिशतले साथीको माध्यमबाट लागूऔषध प्रयोग गर्न सिकेको तथ्यांक छ र यसमा ६७.७ प्रतिशतले साथीसंगीबाट नै लागूऔषध प्राप्त गर्ने (किन्ने) बताएका थिए । नौलो घुम्ती नेपाल उपचार केन्द्रका संयोजक ओम गुरुङले साथीसँगीको दबाब नै लागूऔषध दुर्व्यसनको मुख्य कारण रहेको बताए ।

यससँगै मनोरञ्जनका लागि, मानसिक तनाव, उत्सुकताका कारण पनि युवा वर्ग लागूऔषधको प्रयोग गर्ने बताए । ‘बाहिरीरूपमा यी कारणहरू भए पनि भित्रीरूपमा पारिवारिक विखण्डन नै मुख्य कारण हो,’ पूर्व लागूऔषध प्रयोगकर्तासमेत रहेको गुरुङले भने, ‘परिवारमा पर्याप्त रूपमा माया, हेरचाह नहुने, आमाबाबासँगै नभएको अथवा कलह हुने ठाउँहरूमा रहेका अधिकांश युवा त्यसबाट बाहिर निस्कन दुर्व्यसनतर्फ लाग्ने गर्छन् ।’

पोखरा घर भएको गुरुङले १२ वर्षसम्म लागूऔषध प्रयोग गरे । पुनस्र्थापना केन्द्र पुगेर दुर्व्यसनबाट छुट्न उनलाई ६ वर्ष लाग्यो । गुरुङ भन्छन्, ‘परिवारको साथ मिल्यो भने दुर्व्यसनबाट छिटो बाहिर निस्कन सकिन्छ तर घरसमाजको साथ नमिल्दा धेरैजना उपचार केन्द्रमा बसे पनि पुनः लागूऔषध प्रयोग गर्न थाल्छन् ।’

स्लिम बन्न लागूऔषधको प्रयोग

पुरुष प्रयोगकर्तासँगै महिला लागूपदार्थ प्रयोगकर्ताको संख्या पनि वर्षेनी बढेकै छ । महिला लागूऔषध प्रयोगकर्ता साथीसंगत, मनोरञ्जन, उत्सुकता, तनाव भुलाउन लगायतका कारणसँगै अर्को कारण दुब्लाउन र राम्री बन्नका लागि पनि लागूऔषधको प्रयोग गर्ने गरेका छन् । विशेषगरी स्लिपिङ ट्याब्लेट, गाँजालगायतको लागूऔषध प्रयोग गर्दा भोक नलाग्ने अनि दुब्लाइन्छ भन्ने भ्रम र अफवाहका कारण महिला विशेषगरी किशोरीहरूले लागूऔषध प्रयोग गर्ने ट्रेन्ड छ ।

असल छिमेकी नेपालको नवजीवन लागूऔषध तथा रक्सी प्रयोगकर्ता महिलाहरूका लागि उपचार तथा पुनस्र्थापना केन्द्रकी कार्यक्रम अधिकृत प्रतिमा बस्नेतले भनिन्, ‘उपचार केन्द्रमा आउने भर्खरका किशोरी तथा युवा महिलामा लागूऔषधले स्लिम भइन्छ र राम्री देखिन्छ भन्ने भ्रम छ । जसले गर्दा उहाँहरू त्यसैका लागि पनि प्रयोग गर्ने गर्छन् । जसले पछि दुर्व्यसनको रूप लिन्छ ।’ बस्नेतले महिला लागूऔषध प्रयोगकर्ताले समाजमा पुनस्र्थापना हुन झन् संघर्ष गर्नुपर्ने बताए ।

‘घरमा एउटा छोरीले लागूऔषध लिएको थाहा पाएपछि अभिभावकले इज्जत जाने डरले लुकाएर राख्ने, उपचारमा नलैजाने, शारीरिक तथा मानसिक हिसां गर्ने गरेको थुप्रै उदाहरण छन् ।’ लागूऔषध प्रयोग गर्ने किशोरीहरू घर छाडेर साथीसँग बस्नुपर्ने अवस्था पनि रहेको छ । जसले गर्दा महिला लागूऔषध प्रयोगकर्तापछि जीवन निर्वाहको लागि यौनकर्ममा पनि लाग्ने गरेको कार्यक्रम अधिकृत बस्नेतले बताए ।

उनले पहिले कुनै एक जक्सनमा बसेर लागूऔषध सेवन गर्नेहरू अहिले सामाजिक सञ्जालका कारण लागूऔषध सजिलोगरी पाउन थालेपछि घरमै बसेर प्रयोग गर्ने गरेको बताए । उपचार केन्द्रमा हालसम्म २०८ जना महिलाले सेवा लिएका छन् । यस्तै कास्कीमा हाल १५ वटा पुनस्र्थापना केन्द्र रहेका छन् ।

डिप्रेसनदेखि एचआइभीसम्म

लागूपदार्थ अन्तरगत गाँजा, चरेस, भाङ, अफिम, हेरोइन, डाइजापाम, मेथाडोन, नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन, नोर्फिन, कोडिन, फेन्सीडिल, कोरेक्स लगायतका रहेका छन् । लागूऔषधको प्रयोगले शारीरिक मानसिक, पारिवारिक तथा सामाजिक असर पर्दछ । लागूऔषध प्रयोग गर्दाको सिरिन्ज साटासाट गर्दा एचआइभी÷एड्स, हेपाटाईटिस, यौनजन्य रोगहरू पनि सर्दछ ।

यसका साथै डिप्रेसन, आत्महत्यातर्फ प्रेरित हुने, एकोहोरोपन हुन थाल्ने, परिवारमा असमझदारी बढ्ने, अन्य अपराधतर्फ उन्मुख हुने पनि गर्दछ । नेपाल सरकारको २०७६ मा सार्वजनीक गरिएको प्रतिवेदनले लागूपदार्थ प्रयोगकर्ताहरूमा १५ प्रतिशतलाई हेपाटाइटिस, यौनजन्य रोग २.५ प्रतिशत, एचआइभी÷एड्स ३.५ प्रतिशत, कुपोषण १.३ प्रतिशत, क्षयरोग ४.० प्रतिशतलाई रहेको देखाएको थियो ।

लागूऔषध दुर्व्यसनमुक्त अभियान

कास्की प्रहरीले कास्कीलाई लागूऔषध दुर्व्यसन मुक्त बनाउने अभियान सञ्चालन गरिरहेको छ । जसका लागि विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा जनचेतामूलक कार्यक्रमको आयोजना गरिएको छ । ¥यापर आशिष राना पक्राउ परेपछि उनलाई काउन्सेलिङ गरेका कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले भने, ‘लागूऔषध दुर्व्यसनबाट बाहिर ल्याउन काउन्सेलिङको आवश्यकता हुन्छ । आशिष रानाको घटनामा हामीले उहाँलाई धेरै सम्झाएका थियौ, युवा वर्ग नै बढी लागू औषध दुर्व्यसनमा रहेकाले उहाँले नै यसरी अभियान लिएर जाँदा प्रभावकारी बन्नेछ ।’

लागूऔषधविरुद्धको अभियानएन्टी ड्रग क्याम्पेन गरिरहेको कास्की प्रहरीले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, साइकल ¥यालीलगायतका कार्यक्रमको आयोजना गरेको छ । हाल नेपालमा लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार लागूऔषध सेवन तथा कारोबारको प्रकृति हेरेर एक महिनादेखि १५ वर्षसम्मको कैद सजाय र दुई हजारदेखि २० लाखसम्मको रकम जरिवानाको दण्ड सजायको व्यवस्था रहेको छ ।

 

 

 

आइएनएस–स्वतन्त्र समाचार

 

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १५:१८