सूचनाको शक्ति - The Power Of Information

        

समाज परिवर्तनको अभियान

फेरिँदै मगन्ता समुदायको जीवनशैली

मगन्ताको परम्परा र पुर्ख्यौली पेसाविरुद्ध नयाँ पुस्ताले सङ्घर्ष गरी पुरानो चोला परिवर्तनको प्रयास भइरहेको छ ।

फाइल तस्वीर

परम्परागत रूपमा घर तथा गाउँबस्तीमा मागेर गुजारा चलाउँदै आएका बाँके जिल्लाका मगन्ता समुदायको जीवनशैलीमा परिवर्तन आएको छ । पहिलेको तुलनामा अहिले मगन्ता समुदायले परम्परागत पेसा छोडेर नयाँ पेसा तथा व्यवसाय अपनाउन थालेका छन् ।

यस्ता समुदायले भीख माग्दै जीविकोपार्जन गर्न छाडेर फरक पेसा अपनाई सम्मानपूर्वक जीवनयापन सुरु गरेका छन् । नेपालगन्ज बजारबाट करिब पाँच किलोमिटर पूर्व–दक्षिणमा पर्ने डुडुवा गाउँपालिकामा मगन्ता समुदायको बस्ती नै छ ।

डुडुवा गाउँपालिका–६ स्थित मगन्तापूर्वामा पुस्तौँदेखि मागेर जीविका चलाउँदै आएका माहुत तथा मगन्ता ११२ घर परिवार छन् । यो समुदायले मगन्ते तथा मगन्ता जीवनशैली परिवर्तन गरेको स्थानीय केलाराम माहुत बताउँछन् ।

उनका अनुसार नामको पछि मगन्ता लेख्न छाडे र माहुत लेख्न थालिएको छ । ‘यसको अर्थ हो, हामीले माग्ने पेसा छाडिसक्यौँ,’ केलारामले भने । मगन्ता समुदायबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नेमा उनी पहिलो हुन् ।

केलाराम भन्छन्, ‘मगन्ते पेसा परिवर्तनको अभियान पनि मैले नै चलाएको हुँ । मागेर होइन, पेसा व्यवसाय गरेर खानुपर्छ ।’ यतिबेला भने मगन्ता समुदायका धेरै बालबालिका अध्ययन गर्न विद्यालय जान थालेका छन् । धेरैले विभिन्न आत्मनिर्भरमुखी पेसा व्यवसाय अपनाउन थालेका छन् ।

उनका अनुसार बाँके र बर्दियामा ३४९ घरमा ७०९ महिला र ७८१ जना पुरुष गरी एक हजार ४९० जना माहुत छन् । मगन्ताको परम्परा र पुर्ख्यौली पेसाविरुद्ध नयाँ पुस्ताले सङ्घर्ष गरी पुरानो चोला परिवर्तनको प्रयास भइरहेको भनाइ उनको छ ।

केलारामले मगन्ता सुधार समूह नै बनाएर सामाजिक परिवर्तनको अगुवाइ गरेका हुन् । उनीजस्ता युवाको सक्रियताले यस समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा ठूलो परिवर्तन ल्याएको स्थानीय मगन्ताहरू बताउँछन् ।

घर, गाउँ र बस्ती डुलेर माग्नेर मागेकै भरमा जीवनयापनविरुद्ध सक्रिय रेखा मगन्ता पढ्नुको साटो बाल्यकालमै भीख माग्न पठाउने संस्कारविरुद्ध ठूलो सङ्घर्ष गर्नुपरेको बताउँछिन् । उनले उच्च शिक्षा हासिल गरेसँगै आत्मनिर्भर मुखी सीप सिके र सिलाइ, बुनाइ तथा कटाइ र शृङ्गार सामग्रीको पसल सञ्चालन गरेकी छन् ।

सोही पसलबाट प्राप्त खर्चले घरपरिवार र छोराछोरीको पठनपाठन गराउँदै आएकी छन् । उनले गाउँका अन्य महिला र युवतीलाई पनि निरन्तर आफूजस्तै आत्मनिर्भर बन्न सुझाव दिँदै आएकी छन् । माहुतको बस्तीमा अझै पनि पुस्तौँदेखिको चलन छोड्न हुन्न र परम्परा त्यागेर सम्मानपूर्वक जिन्दगी बिताउनुपर्छ भन्ने दुई पक्ष छन् ।

उनले भनिन्, ‘तर सम्मानपूर्वक जिन्दगी बिताउनुपर्छ भन्नेहरू धेरै छन् ।’ नेपालगन्जसँगै राजधानी काठमाडौँ र भारतका विभिन्न सहरमा पुगेर घरघरै माग्दै हिँड्ने क्रम भने अहिले घट्दै गएको छ । वर्षमा १० महिना माग्न हिँड्नेहरू अहिले बजारमा विभिन्न काम र रोजगारी गर्न थालेको मगन्ता समुदायका अगुवा केलाराम बताउँछन् ।

‘पहिलेको तुलनामा वर्तमानको अवस्था फेरिएको छ । अरूसामु हात फैलाउनुभन्दा आफैँ परिश्रम गर्न थालेका छौँ,’ मगन्ता बस्तीका छेदु माहुतले भने । अबको केही वर्षमा गाउँमा मागेर गुजारा गर्ने कोही पनि नहुने गरी सबैलाई शिक्षा, सीप, रोजगार, जागिर लगायत विभिन्न पेसा व्यवसायमा आकर्षित गराइएको उनीहरूले बताए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १४:०६