सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

थारू समुदायलाई चिकित्सकको सुझाव, ‘रगत जाँचेर विवाह गर्नुस्’

विवाह गर्दा सामान्यतयाः चिना हेर्ने गरिन्छ । थारू समुदायमा भने रगत जाँच गर्नुपर्ने भएको छ ।

सिकलसेल एनिमिया जाँच गरिँदै । फाइल तस्वीर

पश्चिम नेपालका थारू समुदायमा मात्र देखिएको सिकलसेल रोगको रोकथामका लागि रगत जाँचेर मात्र विवाह कुण्डली मिलाउन चिकित्सकहरूले थारू समुदायलाई सुझाव दिएका छन् ।

सिकलसेलबाट सन्तानलाई बचाउन अनिवार्यरूपमा रगत जाँच गरेर मात्र विवाह कुण्डली मिलाउन आग्रह गरिएको नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत सिकलसेल रोग विशेषज्ञ डा.राजन पाण्डेले बताए ।

उनले थारू समुदायका लागि विवाह कुण्डली नै तयार पारेर बाँकेका गाउँगाउँमा वितरण गरिएको जनाउँदै सोही बमोजिम गरेमात्रै सिकलसेलबाट भावी पुस्तालाई जोगाउन सकिने बताए । डा.पाण्डेले तयार गरेको विवाह कुण्डलीमा सिकलसेलका बिरामीबीच विवाह गर्नै नमिल्ने उल्लेख गरिएको छ ।

पचास प्रतिशत बिरामी र पचास प्रतिशत वाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ भने २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत वाहकका बीचमा विवाह गर्दा पनि सोच विचार गर्नुपर्ने सो कुण्डलीमा भनिएको छ । उक्त कुण्डलीमा वाहक–वाहक, पचास प्रतिशत सामान्य र पचास प्रतिशत वाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख छ ।

अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘वाहक’ भनिएको छ । ‘अहिलेको पुस्तामा रोग देखिएको छैन तर उसका सन्तानमा रोग देखिन सक्नेलाई वाहक भन्ने गरिएको छ,’ डा.पाण्डेले भने, ‘बिरामी भनेको त लक्षण देखिएको भइहाल्यो । विवाह गर्दा सामान्यतयाः चिना हेर्ने गरिन्छ । थारू समुदायमा भने रगत जाँच गर्नुपर्ने भएको छ ।’

स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बिरामी र वाहक पत्ता लगाएर अहिले उनीहरूलाई विवाह कुण्डलीबारे जानकारी दिने काम भइरहेको बताए । थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलका नौ जना बिरामीले भेरी अस्पतालबाट औषधि खाइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सिकलसेल रोग विशेषज्ञ डा.पाण्डेका अनुसार पश्चिमका विभिन्न जिल्लामा तीन हजार ८०३ जनाले नियमित औषधि खाइरहेका छन् ।

सिकलसेलको रोकथाम भनेकै पूर्वतयारी भएकाले र गत जाँच गरेर मात्र विवाह गर्दा सो रो ग नियन्त्रण गर्न सकिनेछ । हाल बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेलको परीक्षण गरेर बिरामी पत्ता लगाउने अभियान सञ्चालन गरिएको छ । सो अभियानअन्तर्गत राप्तीसोनारी गाउँपालिकामा हालसम्म २६१ जनाको रगत परिक्षण गर्दा ३७ जनामा सिकलसेल भेटिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत श्रेष्ठले बताए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १३:५०