सूचनाको शक्ति - The Power Of Information

        

संकटमा उद्योग

बाँकेमा विद्युतको अनियमित आपूर्ति, उद्योग सञ्चालनमा समस्या

विद्युत् अनियमित हुँदा सयौँ मजदुरलाई उद्योग परिसरमै दिनरात पर्खाउनुपर्छ ।

गत एक महिनाभन्दा बढी समयदेखि बाँके जिल्लामा विद्युत्को आपूर्ति अनियमित भएपछि यहाँका उद्योग कलकारखाना सञ्चालनमा समस्या भएको छ । विद्युत्को अनियमित आपूर्तिका कारण बाँकेमा रहेका उद्योग गम्भीर समस्या भोग्न बाध्य भएका छन् ।

आवश्यक विद्युत् नपाउँदा अधिकांश उद्योग बन्द हुने अवस्थामा पुगेको सम्बद्ध उद्योगी, व्यवसायीले बताएका छन् । विद्युत् अनियमितता गहिरिएर उद्योगमा गम्भीर सङ्कट उत्पन्न भएको जिल्लाकै पहिलो सिमेन्ट उद्योग जय मङ्गलम् सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक सञ्जय अग्रवालले बताए ।

उनले केही घण्टा मात्र विद्युत् उपलब्ध हुँदा ८० प्रतिशतभन्दा बढी उत्पादन घटेको बताए । प्रबन्ध निर्देशक अग्रवालले बाँके जिल्लामा रहेका सबैजसो ठूला उद्योग विद्युत्का कारण धराशायी हुने अवस्थामा पुगेको जनाउँदै अब यसरी धेरै दिन उद्योग चलाउन नसकिने बताए ।

विद्युत् समस्याले गर्दा उत्पादनमा गिरावट आएको जनाउँदै यसबाट उद्योगलाई ठूलो मार परेको पश्चिम क्षेत्रकै ठूलो खाद्य उद्योग केएल दुगडका महाप्रबन्धक प्रदीप छाजेडको गुनासो छ । उनका अनुसार विद्युत् अनियमित हुँदा सयौँ मजदुरलाई उद्योग परिसरमै दिनरात पर्खाउनुपर्छ ।

उत्पादन निश्चित नहुँदा पर्खिरहेका कर्मचारीलाई बढी पैसा दिनुपर्छ भने उत्पादन पनि निकै कम मात्र हुन्छ । विद्युत्कै कारण उद्योग धराशायी हुने अवस्था आइसकेको जनाउँदै उनले यसरी उद्योग चलाउनुभन्दा सरकारले विद्युत् नियमित नगर्ने हो भने बन्द गर्दा नै न्याय हुने बताए ।

विद्युत्का कारण अधिकांश उद्योग धराशायी हुने अवस्थामा पुगेको गुनासो नेपालगन्ज उद्योग वाणिज्य सङ्घको कार्यायमा यहाँका उद्योगी व्यापारीहरु दैनिकरुपमा आउने गरेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले जानकारी दिए ।

उनले विद्युत् सङ्कटलाई लिएर दैनिक धेरै उद्योगीले गुनासो गर्ने तथा समस्या समाधान गराउन पहल गर्न आग्रह गर्ने गरेको बताए । उद्योग, व्यवसायमा गहिरिँदो विद्युत् सङ्कटप्रति कसैले पनि गम्भीर भएर सोचेको नपाइएको उनको गुनासो छ । विद्युत् सङ्कटलाई लिएर विद्युत् प्राधिकरणसँग पटकपटक छलफल गरे पनि आश्वासनबाहेक केही नपाएको अध्यक्ष मन्सुरीले बताए ।

‘२४ घण्टा विद्युत् उपलब्ध नभए पनि जति समय प्राप्त हुने हो, त्यो पूर्वजानकारी भइदिए मजुदर, कर्मचारी व्यवस्थापनमा सहज हुने थियो,’ उनले भने । विद्युत् वितरण केन्द्र नेपालगन्जले भने विद्युत् आपूर्तिको समस्यालाई लिएर कार्यालय गम्भीर रहेको जनाउँदै विद्युत् नियमित गर्ने प्रयास भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १३:२७