सूचनाको शक्ति - The Power Of Information

        

दुर्गम गाउँमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार

फाइल तस्वीर

दैलेख जिल्लाको पश्चिममा पर्ने आठविस नगरपालिका–१ सात्तलाकी २६ वर्षीया सीता थापाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उनको सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी हुन नसकेकी थापाको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

दुई दिनदेखि सुत्केरी व्यथा लागेकी थापाको कम्मरमुनि बच्चा अड्केपछि थप उपचारका लागि उद्धार गरी सुर्खेत पठाइएको निमित्त प्रजिअ थापाले बताए । अस्पतालमा अप्रेसन गरी थापाको चार केजीको बच्चा निकालिएको जनाइएको छ । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको निमित्त प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १०:४६