अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमिति पदाधिकारीले आज सपथ लिने भएका छन् ।
एन्फाले नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ ग्रहण आज साँझ ५ बजे एन्फा कम्प्लेक्समा हुने जानकारी गराएको हो ।
सपथ ग्रहणपछि नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङलगायतका पदाधिकारीले कार्यभार सम्हाल्नेछन् । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए ।
अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का तथा उपाध्यक्षमा दावा लामा, दिपक खतिवडा, विराट जंग शाही र दीर्घबहादुर केसी निर्वाचित भएका थिए ।
नवनिर्वाचित कमिटीको महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा तथा सदस्यमा मनिष जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ,भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोतम थापा,रमेश व्यञ्जनकार, मनिराज विष्ट,टिकाराम लामा,भरत बुढ्थापा छन् । बाँकी दुई सदस्य भने आगामी एन्फा महाधिवेशनले तय गर्नेछ ।
दीपक थापा क्षेत्री, रूपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले बराबर मत प्राप्त गरेपछि एन्फाको विधान र फिफा र एएफसी प्रतिनिधिहरूको सुझावअनुसार आगामी एन्फा महाधिवेशनबाट दुई सदस्य तय गरिने एन्फाले जनाएको छ ।
त्यस्तै, महासचिव र कोषाध्यक्ष भने मनोनित हुनेछन् ।
सत्यपाटी । काठमाडौँ ।