सूचनाको शक्ति - The Power Of Information

        

एम्फाको केन्द्रीय सदस्यमा बाँकेका भोजराज शाही विजयी

सोमबार काठमाडौंमा सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यमा बाँकेका भोजराज शाही विजयी भएका छन् ।

बाँके जिल्ला फुटबल संघको अध्यक्षसमेत रहेको शाही ४४ मत पाएर विजयी भएका हुन् । उनी एन्फाको अध्यक्षमा विजयी भएका पंकजविक्रम नेम्वाङको प्यानबाट विजयी भएका हुन् ।

नेम्वाङ अध्यक्षमा ‘सिटिङ प्रेसिडेन्ट’ कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गरेका थिए । कूल ८४ मध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गरेका थिए ।

एन्फाको २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुंगो लगाएको छ । जसमा वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलकै वीरबहादुर खड्का ४४ मतसहित विजयी भए । शेर्पा प्यानलका उम्मेदवार शिक्षित पराजुलीले ४० मत मात्रै प्राप्त गरे ।

उपाध्यक्ष पदमा पनि नेम्वाङ प्यानल हाबी भयो । चार उपाध्यक्षमध्ये तीन जना नेम्वाङ प्यानलका उम्मेदवार विजयी हुँदा शेर्पा प्यानलका एक उम्मेदवार विजयी भए ।

नेम्वाङ प्यानलबाट दावा लामा, दीपक खतिवडा र विराटजंग शाही निर्वाचित हुँदा शेर्पा प्यानलका दीर्घबहादुर (कुमार) केसी विजयी भए । शेर्पा प्यानलका उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा तथा नेम्वाङ खेमाका सुन्दरनरसिंह जोशी पराजित भए ।

महिला सदस्यमा भने दुवै प्यानलका एक-एक उम्मेदवार विजयी भएका छन् । शेर्पा प्यानलकी पेमा डोल्मा लामा र नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ विजयी भए । नेम्वाङ प्यानलकी विन्द्रा देवान र शेर्पा प्यानलकी विना श्रेष्ठ पराजित भए ।

१३ खुल्ला सदस्य पदका लागि भएको निर्वाचनले ११ जना मात्रै चयन गरेको छ । नेम्वाङ प्यानलबाट ६ तथा शेर्पा प्यानलबाट ५ सदस्य विजयी भएका छन् ।

चार जना सदस्यका उम्मेदवारको समान ३९-३९ मत भएपछि दुई सदस्यको टुंगो लागेको छैन । एन्फाको विधानअनुसार आजै पुनः निर्वाचन गर्न सम्भव नहुने भएपछि बाँकी दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुंगो लगाउनु पर्ने भएको छ ।

सदस्य पदमा नेम्वाङ प्यालनका रविन्द्र चन्द ४६, अनिल मल्ल ४७, पुरुषोत्तम थापा ४३, महेन्द्र क्षेत्री ४४, विजय नारायण श्रेष्ठ ४४ मत ल्याएर विजयी भए ।

शेर्पा प्यानलका रमेश व्यञ्जनकार ४३, भरत बुढ थापा ४०, टिका लामा ४१, मणिराज विष्ट ४२, मनिष जोशी ४८ मत ल्याएर विजयी भए ।
शेर्पा प्यानलका रुपेश अधिकारी, लोकेन्द्र गुरुङ र दीपक थापा क्षेत्री तथा नेम्वाङ दीपेन्द्र धिमालको समान ३९ मत आएको थियो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार १७:२९