मानवताबादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यार्पण गरेर बझाङ जिल्लालाई मंगलबार साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको आयोजनामा जिल्ला समन्वय समिति बझाङको सभाहलमा मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यार्पण गरेर बझाङ जिल्लालाई ५७ औँ साक्षर जिल्ला घोषणा गरिएको हो ।
बझाङ जिल्लाका १२ वटै स्थानीय तहका १५ देखि ६० बर्ष उमेर समुहका निरक्षरहरुलाई १२ वटा माप्दण्डमध्ये ७ वटा मापदण्ड पुरा गरे अनुसार स्थानीय तहहरु यसअघि नै साक्षर घोषणा भैसकेकाले साक्षर नेपाल बर्ष २०७६ अवधारणा पत्र बमोजिम विभिन्न अभियान सञ्चालन गरेकाले आज औपचारिकरुपमा जिल्लालाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुरेन्द्रबहादुर कडायतले बताए ।
साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बझाङ जिल्लाका ९५ प्रतिशत जनसंख्या साक्षर भए पनि बाँकी रहेको ५ प्रतिशत पनि साक्षर हुनेगरी पूर्णरुपमा साक्षर जिल्ला घोषणा गर्नुपर्ने, अझै कतिपय बालबालिकाहरुको बीचमै विद्यालय छाड्ने भएकाले विद्यालय छाड्ने दर कसरी कम गर्न सकिन्छ भन्नेमा सबैले ध्यान दिनुपर्ने बताए ।
त्यसैगरी जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बझाङ जिल्ला मात्र हैन देशभर शिक्षा र मानवताको सन्देश फैलाउने जयपृथ्वी बहादुर सिंहलाई सोमबार मात्रै सरकारले १८ औँ राष्ट्रिय विभुती घोषणा गरेकोमा सरकारलाई धन्यवाद दिनुका साथै नगरपालिकामा पनि यसको उपलक्ष्यमा कार्यक्रम आयोजना गर्ने र जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न आफुहरु लागिपर्ने बताए ।
कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै सुदूरपश्चिम प्रदेश सांसद शान्ती नेपालीले शिक्षा नै सबैभन्दा ठुलो भएकाले आगामी दिनमा बझाङ जिल्लालाई विभेद, हिंसारहित जिल्लाको रुपमा समेत घोषणा गर्नुपर्ने र बझाङ जिल्लाको इतिहास मानवताबादी विचारक जयपृथ्वी बहादुर सिंहका विचार आजपनि उतिकै सान्दर्भिक रहेकोमा जोड दिइन् ।
साक्षर जिल्ला घोषणा कार्यक्रमको समापनमा बोल्दै जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहराले अहिले बझाङ जिल्लाका धेरै निरक्षर नागरिकलाई पनि सहजै मोबाइल चलाउन सक्ने, घडी हेर्न सक्ने, सामान्य हिसाब गर्न सक्ने, परिवारका सदस्यहरुको नाम,उमेर लेख्न पढ्न सक्ने भैसकेकाले साक्षर जिल्ला घोषणा गरिएको बताए । बोहराले यसअघि अगाडी गाउँपालिका अध्यक्ष हुँदासमेत शिक्षा क्षेत्रलाई लक्षीत गरेर गाउँमा विभिन्न अभियानहरु समेत चलाएको बताए ।
सत्यराज सिंह । बझाङ ।