सूचनाको शक्ति - The Power Of Information

        

सिकलसेल एनिमिया

निःशुल्क उपचारमा कठिनाई झेल्दै सिकलसेलका बिरामी

भेरी अस्पतालमा पछिल्लो एक दशक अवधीमा सिकलसेलका करिब चार हजार विरामी सम्पर्कमा छन् ।

सिकलसेल एनिमिया जाँच गरिँदै । फाइल तस्वीर

सिकलसेलका बिरामीले निःशुल्क उपचारमा कठिनाई झेल्दै आएका छन् । सरकारले थारु समुदायमा स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल रोगको उपचारका लागि सहयोगको नीति लिएको भए पनि अपर्याप्त रहेको पीडितहरुको बुझाई छ ।

नेपाल सरकारले सिकलसेलका विरामीलाई एक लाख रुपैयाँसम्मको औषधी निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । भेरी अस्पतालमा उपचाररत विरामीहरुले त्यो सेवा पूरा गरिसकेपछि थप उपचारमा कठिनाई भएको बताएका छन् ।

एक दशकदेखि सिकलसेलियाबारे अध्ययन र उपचारमा संलग्न अस्पतालका डा.राजन पाण्डेले उपचाररतमध्ये करिब २० जना विरामीको एक लाख रुपैयाँसम्मको औषधी प्राप्त गरिसकेको जानकारी दिए । उनले भने, ‘उहाँहरुलाई उपचारका लागि थप औषधीको आवश्यक पर्छ ।’

उनका अनुसार विभिन्न नीतिका कारण समस्या उत्पन्न भएको छ । डा.पाण्डेले भने, ‘सिकलसेलको उपचारमा प्रयोग हुने औषधी अत्यावश्यकीय औषधीको सूचीमा समावेश भएको भए पनि विमासूचीमा समावेश नभएकाले बीमाबाट उपचार पाउन नसकेको विरामीहरुको गुनासो छ ।’

अस्पतालले विरामीको आर्थिक अवस्था हेरेर अति विपन्न उपचार कोष लगायतबाट थप औषधी चाहिने विरामीलाई सहयोग गर्दैआएको जनाएको छ । भेरी अस्पतालमा पछिल्लो एक दशक अवधीमा सिकलसेलका करिब चार हजार विरामी सम्पर्कमा छन् ।

तीमध्ये ८८४ जना नियमित उपचारमा रहेको अस्पतालले जनाएको छ । नियमित उपचारमा रहेका विरामीले सिकलसेलको उपचार बापत एक लाख रुपैयाँ सहयोग पाउने सरकारी नियम भए पनि त्यो अपर्याप्त रहेको उपचाररत पीडितहरुले बताए । सिकलसेलजस्तै थालेसेमिया रोग पनि ठूलो स्वास्थ्य समस्याको रुपमा देखिएको डा.पाण्डेले बताए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार १५:०५