पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्णरूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आगामी साउनदेखि डिजेल र पेट्रोलमा पूर्णरूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको हो ।
स्वचालित मूल्य प्रणाली लागू हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । सरकारको आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख छ ।
सोहीअनुरूप स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । यसअघि २०७१ असोज २४ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिए पनि प्रभावकारी कार्यान्वयनमा आउन सकेको थिएन ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्न मूल्य बढाउनुपर्ने सरकारको बाध्यता रहेको बताए । आपूर्ति व्यवस्था सहज पार्नु र मूल्य समायोजन गर्नु सरकारको कर्तव्य रहेको पनि उनले बताए ।
उनले भने, ‘त्यसैले अब पेट्रोलियम पदार्थमा पूर्णरूपमा स्वचालित मूल्य प्रणालीमा जान्छौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्छ र घट्दा पनि तत्काल घटाउँछौँ ।’ तत्कालका लागि खाना पकाउने एलपीजी ग्यासको मूल्य भने नबढाउने उनले जानकारी दिए ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आगामी साउनदेखि पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गरिने जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको र एकैचोटि स्वचालित मूल्य प्रणालीमा जान नसकिने भएकाले अहिलेदेखि नै मूल्य बढाउँदै गएको उनले बताए ।
ग्यासमा घरायसी प्रयोजनका लागि अहिलेकै मूल्य र व्यापारिक प्रयोजनका लागि बेग्लै गरी दुई थरी मूल्य लागू गर्न लागिएको उनले जानकारी दिए । ‘सुरुदेखि नै स्वचालित मूल्य प्रणाली लागू गरेको भए निगम यतिधेरै घाटामा जाने थिएन, अब पूर्णरूपमा लागू गर्छौं,’ थानीले भने । ग्यासमा दोहोरो मूल्यबारे अध्ययन गर्न गुणस्तर तथा नापतौलका महानिर्देशक नेतृत्वको टोलीले काम गरिरहेको पनि उनले जानकारी दिए ।
अझै बढ्ने सम्भावना
रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको पेट्रोलियम पदार्थको मूल्य आगामी दिनमा थप बढ्ने देखिएको हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा पर्दै आएको छ । निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल लिटरमा २१ रुपैयाँ, डिजेल–मट्टीतेल २७ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) १९ रुपैयाँ बढाएको थियो ।
हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको थियो । नयाँ मूल्यसँगै प्रतिलिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । डिजेल–मट्टीतेल १९२ रुपैयाँ पुुगेको छ । हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याइएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
मूल्य वृद्धिको विरोध
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको चौतर्फी विरोध भइरहेको छ । विभिन्न राजनीतिक दलसँग आवद्ध विद्यार्थी सङ्गठनहरु, उपभोक्ता अधिकारकर्मीहरुले तत्काल बढेको मूल्य फिर्ता गर्न माग गरेको छ । ठूलो मात्रामा पेट्रोलियम पदार्थको मूल्य बढ्दा समग्र बजार मूल्य बढ्ने भन्दै विद्यार्थी सङ्गठन र उपभोक्ता अधिकारकर्मीहरुले फिर्ता गर्न माग गरेका हुन् ।
सत्यपाटी । काठमाडौं ।