सूचनाको शक्ति - The Power Of Information

        

सातवटा कुकुरले टोक्दा रावतको अवस्था गम्भीर

जिल्ला समन्वय समितिमा कार्यरत कार्यालय सहयोगीलाई मङ्गलबार बिहान सात वटाभन्दा बढी कुकुरले टोक्दा उनको अवस्था गम्भीर भएको छ ।

खेतीपाती गोडमेल गर्न जानेक्रममा कुकुरले टोक्दा सिमकोट गाउँपालिका–५ की सप्पा रावत घाइते भएकी हुन् । सिमकोट गाउँपालिका–५ को सिम क्षेत्रको रानीबनबाट आएको सातभन्दा बढी कुकुर आएर आफ्नो जग्गामा गोडमेल गर्दै गरेकी रावतलाई टोकेर घाइते बनाएको आफन्त विष्णु रावतले बताए ।

गोडमेल गर्दै गरेको जग्गामा छाडा कुकुरले टोकेर घाइते भएर लडेकी रावतलाई खेल मैदानमा फुटबल प्रशिक्षण गर्दै गरेका विष्णु रावत लगायतको टिम गएर अस्पतालसम्म बोकेर उद्धार गरेको थियो । अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले घाइतेको अवस्था गम्भीर रहेको र उनलाई जिल्ला बाहिर रिफर गरिएको बताइन् ।

टाउको, शरिरको पछाडीको भाग, तिघ्रा, हात खुट्टा लगायतका भागमा कुकुरले टोकेर जताततै घाउ बनाएको उनले बताइन् । उनको टाउकोमा गहिरो घाउ बनेको र प्राथमिक उपचार अस्पतालमा गरिएको उनले बताइन् । घाइते रावतलाई थप उपचारका लागि नेपालगन्ज लैजाने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार १३:५२