जेठ २० गते दिउँसो, चितवनको राप्ती नगरपालिका–१ पिप्लेको नयाँबस्तीमा रहेको भीमकुमारी तामाङको घर अघि एउटा अटो रोकियो । अटोबाट एक अधबैँशे पुरुष झरे । तिनले अलिकति सहारा दिएझैँ गरेपछि दीर्घ रोगले थलिएकी एक महिला सकीनसकी अटोबाट झरिन् ।
टिसर्ट र जिन्स पाइन्टमा झरेकी महिलाको कपाल जिङ्ग्रिङ्ग थियो । ज्यान सुकेर मुठ्ठी भरको भएको । ति मानिसहरू झट्ट भीमकुमारीले चिन्न सकिनन् । तर, उनीहरू आफ्नै घरतिर आइरहेका थिए । भीमकुमारीले अड्कल गर्दै गर्दा, भाउजू सम्बोधन गरिन्, तिनै महिलाले ।
परिवारको सदस्य एकै सम्बोधनले ठम्याइन्छ । भीमकुमारीले भनिन्, कान्छी हो ? अँ भाउजू । दबेको स्वरमा यति निकाल्दै गर्दा उनी घिस्रिँदै आँगन छेउ आइपुगेकी थिइन् । उनीसँगै ४५ हाराहारी उमेरको देखिने पुरुष थियो ।
चैत १० गते काठमाडौँबाट अरु दुई नन्दले आफूकहाँ आउन कान्छी नन्द हिँडेको खबर भीमकुमारीले पाएकी थिइन् । तर, कौशिलाको साथमा फोन थिएन । सोही दिन बेलुकासम्म नआइपुगेपछि उनीहरूले चिनेजाने वरपर सोधिखोजी पनि गरेका थिए ।
भर्खर २७ वर्षकी भए पनि पढेकी थिइनन् कौशिलाले । उनी फोन पनि नबोक्ने । काठमाडौँबाट सकुशल हिँडेकी भनेर खबर आएपनि नन्द घर नआइपुग्दा चिन्ता त थियो । तर, ज्याला मजदुरी गर्ने भएकोले साथीहरूसँग कामतिर गइन् भन्ने अनुमान गरेर उनीहरूले प्रहरीलाई खोजीको लागि खबर पनि गरेनन् ।
काठमाडौँबाट चैत १० गते सकुशल हिँडेकी नन्द करिब साढे दुई महिनामा त्यो अवस्थामा देखेर भीमकुमारीको होसै उड्ला जस्तो भयो । सोधिन्, के भयो कान्छी ? उनको स्वभाविक जवाफ थियो, बिरामी भएँ भाउजू । तर, कान्छी अर्थात् उनको अवस्था भने सामान्य थिएन ।
नजिकै जानै नसकिने गरि गन्हाएकी थिइन् । शरीरबाट आलो रगतको गन्ध ह्वास्स आइरहेको थियो । कपाल गुजुल्टा परेका । वरपर कोही जानै नसक्नेगरी दुर्गन्ध आएको थियो उनको शरीरबाट । सिधा बस्न पनि नसक्ने अवस्थामा आएकी थिइन् कान्छी । भीमकुमारीले भनिन्, ‘पिँढीमै लमतन्न सुतिन् ।’
कौशीलामाथि के भएको थियो ?
उनी अर्थात् २७ वर्षकी नन्द एक्लै आएकी थिइनन् । आफ्ना कुरा राम्रोसँग भन्न पनि उनले सकिनन् । त्यही ४५ वर्ष हाराहारीको पुरुषले भन्यो तपाईँकी बहिनीलाई बिरामी भेटेर मैले उपचार गरिदिएको । रसिद नै देखाएर भन्यो मेरो २९ हजार खर्च भएको छ । तर, तिनी को हुन् ? नन्दसँग सम्बन्ध के हो, कसरी भेटेको त्यतिबेला केही खुलेन ।
भीमकुमारीले भनिन्, ‘कान्छीले पनि त्यसको अगाडि केही भनिनन् ।’ भीमकुमारीका श्रीमान राजेन्द्रको क्यान्सरले मृत्यु भएको आउँदो भदौमा ४ वर्ष पुग्छ । श्रीमानको ठेगाना नुवाकोट भएपनि नुवाकोटमा बस्ने खाने केही नभएपछि भीमकुमारी माइतीमै तीन छोरी हुर्काएर बसिरहेकी छिन् । आफ्नो बुबा र सासू ससुरा पनि उनैले हेरचाह गर्दै आएकी छिन् ।
घरमा स्वास्नीमान्छे मात्रै भएकोले यसलाई राती राख्नुहुन्न भनेर छिमेकीले सल्लाह दिए । ज्वाइँ भन्नलाई बिहे भएको कुरा आएको थिएन । त्यसैले भीमकुमारीले नन्दलाई उपचार गरिदिएकोमा धर्म मिल्छ भनेर धन्यवादसहित पठाइन् । त्यो मानिस अर्थात् ४५ वर्षका पूर्ण घलान घरबाट गएपछि नन्दले आफूमाथि भएको ज्यादतिबारे भीमकुमारीसँग खोलिन् ।
काठमाडौँबाट पूर्वको गाडी चढेको थिएँ । पिप्ले भनेको राती ल्याएर भण्डारमा बसले ओरालिदियो । रातीमा बाटो चिनिन । वरपर मान्छे खोज्दा यिनै भेटिए । भोलि घर पुर्याइदिउँला भनेर लगे । भाउजूको घर टाढा छ भोलि पुर्याइदिउँला भनेर एउटा घरमा पुर्याए । पराल नै परालको घरमा लगेर हातखुट्टा बाँधेर राखे ।’
उनले आफूलाई केही खान नदिएर पूर्णसहित अरु तीन जनाले राती पालैपालो बलात्कार गर्ने गरेको भाउजूलाई बताइन् । आफू तामाङ भए पनि उनी तामाङ भाषा बुझ्दिनन् । चारै जनाले तामाङ भाषामा कुरा गर्ने गरेको पनि भाउजुलाई उनले बताइन् । उनले बेलैमा किन नभनेको भन्दा कसैलाई भनिस् वा भागिस् भने मारेर खोलामा फलिदिन्छौँ भनेको पनि बताएकी थिइन् ।
नन्दको त्यो हालत बनाएका पूर्णबहादुर कौशिलालाई अन्तिम अवस्थामा छोड्न आएका रहेछन् । उनलाई भाउजूको जिम्मा लगाएपछि पूर्ण त्यहाँबाट निस्किए । तर, चार किलोमिटर टाढा पुग्न नपाउँदै कौशिला आफ्नो बूढी भन्दै उपचारको लागि पैसा माग्न थालेका रहेछन् । मागेको रकमले रक्सी खाने रहेछन् । त्यो कुरा भीमकुमारीको छिमेकीले थाहा पाएछन् ।
पूर्ण र उनका साथीहरूले गरेको यौन शोषणबारे जानकारी भएका भीमकुमारी र उनका छिमेकीले प्रहरीलाई खबर गरेर पूर्णलाई प्रहरीको जिम्मा लगाए । त्यसपछि बल्ल सुरु भयो, कौशिलामाथि भएको बलात्कारको न्यायिक प्रक्रिया र उनको उपचार । जेठ २४ गते प्रहरीकहाँ उजुरी गरेपछि कौशिलालाई भरतपुर अस्पताल उपचारको लागि भाउजू भीमकुमारीले लगिन् । अस्पतालमा नै उपचारको क्रममा जेठ ३१ गते कौशिलाले प्राण छोडिन् ।
कहाँ बन्धक बनाइएकी थिइन् कौशिला
भण्डारा बजारबाट करिब २०० मिटर भित्र भण्डारामा माध्यामिक विद्यालयले खोलासँगैको आफ्नो जग्गामा माछा पोखरी खनेको थियो । माछाको रेखदेख र बिक्री गर्न तराइका एक परिवार नै त्यही दुई कोठे घरमा बस्ने गर्थे । तर, अहिले विद्यालयले माछा पोखरी पुर्यो । त्यहाँ मान्छे बस्दैनन् । मृतक कौशिलालाई बन्धक बनाइएको भनिएको त्यो घर बाटोसँगै जोडिएको छ ।
त्यही घरमा भण्डारा माविका विद्यार्थीहरूले साइकल पनि पार्किङ गर्ने गर्थे । कौशिला थला परेपछिको करिब ५–७ दिन खोला छेउमा भैँसी हेर्न आउने गोठालाहरूले देखेका थिए । त्यहाँ बिहान १० देखि ५ बजेसम्म दैनिक भैँसी चराउन चौकीडाँडाबाट आउने कालिमाया परियारले पनि कौशिललाई देखेकी थिइन् । उनले देख्दा कौशिला थला परेको अवस्थामा थिइन् । शरीर हृष्टपुष्ट हुँदा उनले नदेखेको बताइन् ।
‘ति नानी त्यही घरको पिँढीमा त्रिपाल ओच्छ्याएर बस्थिन् । तरर रगत बगेको हुन्थ्यो । वरिपरि जानै नसक्ने गरि गन्हाउँथिन् । पिँढीमा दिनभर सुतिरहेकी हुन्थिन् । बलेसीमा झरेर दिसा गर्थिन्,’ कालिमायाले भनिन्, ‘एक दिन त बलेसीमा हरियो दिसा गरेको देखेँ । पानी तात्दैन भनेर मैले पनि पानीको बोतल त्यहीँ राखेको थिएँ । लिन जाँदा आमा ६ दिन भयो मैले केही खाको छैन पैसा भए दिनु न भनिन् । मसँग त्यही दिनचाहिँ पैसा थिएन ।’
परियारले खोलाको छेउमा फालेको फोहोरबाट प्लास्टिक छान्ने महिलाहरूले केही लुगा र त्रिपाल ल्याएर टाँगिदिएको पनि बताइन् । उनले करिब एक साता दिउँसो कौशिला मात्रै हुँदा श्रीमान भनिएको मान्छेचाहिँ नदेखेको पनि जानकारी दिइन् । परियारले थपिन्, ‘बुढाबुढी काम गर्न आको भन्थिन् । तिमी बिरामी छौं हेल्थ पोष्ट लगिदिन्छौँ भन्दा जान्न मार्छ भन्थिन् । माइती पिप्ले जाउ न त भन्दा पनि मलाई मारिहाल्छन् नि भनेर मान्दै मानिनन् ।’
परियारले चुनाव पछाडिको एकहप्ता जतिमात्रै त्यहाँ देखेको बताइन् । प्रहरीमा भाउजू भीमकुमारीले जाहेरी गरे अनुसार त्यही घरमा कौशिलालाई बन्धक बनाइएको थियो । प्रहरीले पनि त्यही घरमा बन्धक बनाइएको बताएको छ । तर, त्यो घरमा भित्र लगेर हातखुट्टा बाँधेर राख्न मिल्दैन । किनकी विद्यालयले नै घरमा ताला लगाएको छ । ढोका बन्द छ ।
गोठाला परियारको भनाइ अनि घरको अवस्थिति हेर्दा कौशिलालाई पिँढीमा बन्धक बनाएर पटक पटक बलात्कार गर्न सकिने अवस्था भने देखिँदैन । त्यो घरको अवस्थिति देखेर शंका गर्न सकिन्छ कौशिलालाई त्यो घरभन्दा अन्तै बन्धक बनाइएको थियो कि ? कौशिलालाई बन्धक बनाइएको भनिएको घर र राप्तीको ६ नम्बर वडा कार्यालयको दूरी ५० मिटर पनि छैन ।
रोगले थलिएपछि त्यही घरमा रगत बगाएर दुर्गन्धित जीवन बाँचिरहेकी उनलाई वडा कार्यालयले देखेन न वडालाई कसैले सूचित गर्यो । घटनाको चार दिनपछि अर्थात् जेठ ४ गते भेट्दा वडाध्यक्ष जल्लु महतो बेखबर देखिए । ‘पुलिसले एक पटक त बलात्कारमा मान्छे मर्यो भनेको थियो,’ महतोले भने, ‘एक पटक पुलिस कार्यालय जाँदा इन्स्पेक्टर भेटिएनन्, त्यसपछि पाँच दिन घुम्न गएर फर्किएँ । अहिलेसम्म पुलिसले केही जानकारी गराएको छैन ।’
डाक्टरले पनि थाहा पाएनन् उनीमाथिको सामूहिक बलात्कार
चितवनमा रहेको एकमात्रै केन्द्रीय अस्पताल हो, भरतपुर अस्पताल । यहाँ पाँच वर्षभन्दा अघिदेखि अस्पतालमा आधारित संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सेवा छ । विभिन्न खाले हिंसाबाट पीडित भएका महिलाका उपचार, न्यायमा पहुँच र पुर्नस्थापनाको काम एकै थलोबाट गर्नको लागि स्थापित ओसीएमसीमा पर्याप्त कर्मचारी छन् । फोकल पर्सन नर्सिङ प्रमुख नै छन् ।
वार्षिक २५ लाख रुपैयाँ संघीय सरकारले नै छुट्याइदिन्छ । तर, चैतको १० गतेदेखि बलात्कृत भएर शिथिल अवस्थामा अस्पताल पुर्याइएकी कौशिलाको पहिलो उपचारमा भने अस्पतालका डाक्टर, नर्सले केही थाहा पाएनन् । चैतको १० गते काठमाडौँबाट चितवन हिँडेकी उनलाई परिवारको सम्पर्कबाट बिच्छेद भएको ७८ दिनपछि श्रीमती भन्दै पूर्ण घलानले भरतपुर अस्पतालमा बैशाख २८ गते पुर्याएका थिए ।
गम्भीर अवस्थामा आकस्मिक कक्षमा ल्याइएकी कौशिलाको पहिले अस्पतालले स्त्रीरोग कक्षमा उपचार गरे । जाँचका क्रममा उनको पाठेघरमा नभइ पिसाब थैलीमा ढुंगा जमेको देख्यो । अवस्था निकै नाजुक भएकोले उनलाई अस्पतालले ओसीएमसी अन्तर्गत नै सबै चेकजाँच त गर्यो तर, हिंसाबारे भने ख्यालै गरेन । अस्पतालमा रहँदा नै स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई आइसीयुमै सारिएकी ओसीएमसी केन्द्रकी नर्स कल्पना खनालले जानकारी दिइन ।
नर्स खनालको अनुसार कौशिलाको आन्द्राबाट रगत बगेको थियो, शरीरमा रगतको कमी थियो । सामान्यतया ४ देखि ११ हजार हुनुपर्ने डब्लुबीसी बढेर ३७ हजार पुगेको थियो, पिसाबघरबाट रक्तश्राव पनि थियो । शरीरभरि संक्रमण फैलिएको थियो । अवस्था नाजुक भएकोले २ दिन आइसीयुमा राखेर जनरल वार्डमा ल्याएकै दिन जेठ ११ गते कुरुवा र बिरामी भागेका ओसीएमसी केन्द्रकी नर्स खनालले बताइन् ।
उजुरीपछि जेठ २४ गते फेरि अस्पतालमा कौशिला पुगेर घटनाबारे भनेपछि थाहा भएको खनालले बताइन् । घटनाको अवस्था हेर्दा जेठ ११ गते अस्पतालबाट भगाएर लगेपछि मात्रै भण्डाराको त्यो झुपडीमा राखिएको जस्तो देखिन्छ । ‘११ गते जेठ यहाँबाट भागेको मान्छे २० गते बल्ल भाउजुकोमा लगिदिएको भनेपछि बाँकी ९ दिन कहाँ राख्यो होला ?’ खनाल भन्छिन्, ‘श्रीमान श्रीमती भनेर बसेपछि हामीले उहाँलाई बलात्कार पीडितको रुपमा नै लिएनौँ । उनले पनि भनिनन् ।’
पुनः अस्पताल भर्ना भएपछि भने उनले आफूलाई मार्ने धम्की दिएकोले केही भन्न नसकिएको जानकारी गराएको खनालले बताइन् । जेठ २४ गते भाउजूले उपचारको लागि लगेकी उनको जेठ ३१ गते मृत्यु भएको थियो । मृत्युपछि गरिएको पोस्टमार्टम रिपोर्टका अनुसार, कौशिलाको ठाउँठाउँमा चुरोटको ठुटाले पोलेको जस्तो दाग देखिएको छ । रिपोर्टमा विशेष गरी फिलामा, घाँटीमा चुरोटले पोलिएको, दाहिने मिर्गौला पूर्ण रुपमा बिग्रिएको, लामो सङ्क्रमणले पिसाबथैली, आन्द्रा बिग्रिएको देखिएको उल्लेख छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान, सामूहिक बलात्कार होइन
तामाङले मर्नुअघि आफूलाई चार जनाले हातखुट्टा बाँधेर बलात्कार गरेको भनेपनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने उनीमाथि सामूहिक बलात्कार नभएको अनुमान प्रहरीले लगाएको छ । अहिले प्रमाणको रुपमा पीडकमात्रै छन् । हुनत प्रहरीले घटना भएको ठाउँ वरपरका स्थानीयसँग पनि सोधपुछ गरेको छ ।
तर, उनको मृत्यु भइसकेपछि पनि आफूले मात्रै शारीरिक सम्बन्ध गरेको दाबी गरेकाले सामूहिक बलात्कार हो होइन प्रहरीको अनुसन्धानले अझै यकिन भने गर्न सकेको छैन । घटनाको प्रकृति हेर्दा र बन्धक बनाइएको भनिएको घरको अवस्था देख्दा उनलाई ७८ दिनसम्म त्यही घरमा राखिएको थियो भन्न सकिने अवस्था छैन । यता प्रहरी चाँहि सामूहिक बलात्कार हो होइन द्विविधामा रहँदा पीडितले मृत्यु नहुँदै भनेका बलात्कारमा संलग्न बाँकी दिन तीन जना उम्किने पो हुन् कि ?
आइएनएस–स्वतन्त्र समाचार
प्रतिमा सिलवाल । चितवन ।