सूचनाको शक्ति - The Power Of Information

        

प्रेममा उमेर नपुगी शारीरिक सम्बन्ध भए बलात्कार नहुने फैसला

नेपालको न्यायालयले ऐतिहासिक फैसला गरेको छ । उमेर नपुगी कसैसँग प्रेम पर्यो र शारीरिक सम्बन्ध भयो भने त्यसलाई बलात्कार करार गर्ने गरिन्थ्यो । किशोरीले हाम्रो सहमति छ भन्दा समेत बलात्कार परिभाषित गर्ने कानूनी अभ्यास थियो ।

विवाह गर्ने तोकिएको उमेर नपुगी प्रेममा परेर कसैले भागी विवाह गरे भने केटी पक्षले युवकलाई बलात्कारको मुद्धा दायर गरे थुनामा राख्ने र युगल प्रेम जोडीलाई थुनाउने गरेका घटना पनि यसअघि छन् । मुद्धा मामिला नगरे पनि यसरी नै थुनाउँने धम्कि दिएर पनि कति प्रेम जोडीलाई छुटाएका धेरै घटना छन् ।

तर नेपालको पुनरावेदन सुन्ने अदालत उच्च अदालतले प्रेममा भएको शारीरिक सम्बन्ध बलात्कार नहुने ठहर गरेको छ । यो नेपालको कानुनी इतिहासमै ऐतिहासिक र महत्वपूर्ण फैसला हो । त्यो पनि जिल्ला अदालतले गरेको फैसलाई बदर गर्दै यस्तो नजिर स्थापित हुनेगरी पोखरा उच्च अदालतले यो फैसला गरेको छ ।

उमेर नपुगी प्रेम विवाह गरि बच्चासमेत जन्माइसकेका प्रेमजोडीलाई जबरजस्ती करणी करार गरि छुटाइदिने कास्की जिल्ला अदालतको फैसला उच्च अदालत पोखराले बदर गरिदिएको हो । उच्च अदालत पोखराले गत जेठमा जिल्ला अदालतको फैसला केही उल्टी गर्दै बालविवाहमा परिणत गरिदिएको हो ।

उच्च अदालत पोखराले जबरजस्ती करणीमा मागदाबी नपुग्ने भन्दै बालविवाह मात्रै ठहर गरेको हो । यसअघि जिल्ला अदालतले भने त्यसलाई करणी भनेर करार गरेको थियो । कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले बाल विवाह मात्रै ठहर हुने फैसला सुनाएका थिए ।

बालविवाहको कसुरमा बाल सुधारगृहमा रहेका किशोरलाई १ वर्ष कैद र १० हजार जरिवानाको फैसला गरिएको छ । यस फैसलासँगै किशोर थुनामुक्त हुने भएका छन् । किशोर करिब २ वर्षदेखि थुनामा थिए । उनको परिवारले प्रेमलाई छुटाउन गरेको यो प्रयास विफल भएको छ । अब किशोर थुनामुक्त भएपछि यस विषयले नयाँ मोड लिने देखिन्छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार ०९:४५