सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रीका पिएहरु कसरी भए रातारात करोडपति ?

राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारमा बसेकाहरुकै क्रियाकलापले नै भ्रष्टाचारलाई प्रोत्साहन गरेको बताएका छन् । राष्ट्रियसभाको आइतवारको बैठकलाई सम्बोधनका क्रममा उनले काठमाडौं र धरानका मेयरबाट पारदर्शिताको पाठ सिक्न पनि मन्त्रीहरुलाई आग्रह गरेका छन् ।

‘वेबपेजमा तत्काल आफ्ना निर्णयहरु राख्ने काम मन्त्रालयहरुले किन गर्दैनन् ? मैले पारदर्शिता खोजेको यहाँनिर पनि हो । मैले यहीँ सभामा पहिलो पटक बोल्दा पनि राखेको थिए, अझ मैले त मन्त्रालयका मन्त्रीहरुको छलफल, बैठक, भेटघाट जस्ता गतिविधिहरूको भिज्युअलसमेत जनताले देखिनेगरी सिसी क्यामेरा राख्नुपर्छ भनेको थिएँ,’ उनले भने, ‘यो विषयलाई अहिले पनि स्मरण गराउन चाहेँ ।’

देवकोटाले मन्त्रीका पिएहरु रातारात धनी हुने गरेको पनि स्मरण गराए । ‘मन्त्रीको पिए बनेर छोटै समयमा अकुत सम्पत्ति कमाए भनेर एकजनाको नामै समाचार माध्यममा आइरहेको छ । खाली खुट्टा काठमाडौं छिरेका उनले मन्त्रीको पिए बनेर चार वर्षमै ६ करोड सम्पत्ति कमाए भन्ने विवरण समाचारहरुमा छ,’ उनले भने, ‘यहाँ त नाम मन्त्री, सबै चाजोपाँजो मिलाउने पिएहरु ।

मैले राजकीय पदमा पुगेका इमान्दार साथीहरुलाई अनुरोध गर्छु, पिएबाट अलिक सर्तक हुनुहोला । कानुनको राज्यमा पारदर्शिता भ्रष्टाचारको रक्षाकवच हो । राज्यको हरेक निकाय तथा अंगहरु पारदर्शी हुनुपर्छ । जनताले थाहा पाउनुपर्छ । पारदर्शिताकै कारण दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जनताले पत्याए, विश्वास गरे । पारदर्शिता नभएको ठाउँमा भ्रष्टाचार छ, हुन्छ भनेर बुझे हुन्छ । यो प्रमाणित हो ।’

उनले काठमाडौं, धरान लगायतका केही पालिकाहरुले अहिले कार्यपालिकाको बैठकसमेत लाइभ गरिरहेका बताए । ‘पारदर्शिताको यो सबभन्दा राम्रो नमुना हो । विभिन्न मन्त्रालय तथा निकायहरूका वार्षिक विकास कार्यक्रम तथा प्रतिवेदनहरू, पुस्तक तथा पुस्तिकाहरूले सांसदका घरका कोठा भरिएका छन्, भरिँदैछन् । केही अपवादबाहेक यी डकुमेन्टहरू कोही कसैले पनि पढ्दैनन्, हेर्दैनन् ।

मैले यसलाई राज्यको स्रोतको अनावश्यक दोहनको रुपमा लिएको छु,’ उनले थपे, ‘डिजिटल युगमा प्रवेश गरेर फूर्ति लगाउने अनि प्रिन्टेड डकुमेन्टको डंगुर लगाउने । यी अनावश्यक डकुमेन्ट दिने काम बन्द गरियोस् । जेजति दिनुछ । पेन ड्राइभमा दिइयोस् । सफ्ट कपी दिइयोस् । इमेलमा पठाइयोस् । वेबसाइटमा नियमित रुपमा राखियोस् । बरु कम्प्युटर चलाउन नजानेकालाई सिकाइयोस् ।’

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार ०९:१९