सूचनाको शक्ति - The Power Of Information

        

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार : मनोज पाण्डेलाई थुनामा पठाउन अदालतको आदेश

आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले  बताए ।

उनलाई डिल्लीबजार कारागार पठाइएको उनले बताए । न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाण्डे संलग्न बाल यौन दुरुपयोगको कसूरमा चाहिँ पाण्डेलाई एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ ।

गत ४ जेठमा घटनाका पीडितले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो क्लीप सार्वज्निक गर्दै आफूमाथि पाण्डेले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन् । पाण्डेले ‘सक्सेस पार्टी’ नाममा बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको उनको भनाइ थियो ।

आफ्नो नग्न तस्वीर खिचेको भन्दै त्रासमा राखेका कारण घटनाबारे त्यसबेला बोल्न नसकेको उनको भनाइ थियो । घटनाबारे तत्कालीन कोरियोग्राफर एवं पूर्वमिस नेपाल माल्भिका सुब्बा लगायतलाई बताए पनि राम्रो साथ नपाएको उनको आरोप थियो ।

हदम्यादका कारण जबरजस्ती करणीको कसूरमा अनुसन्धान गर्न जटिलता सिर्जना भएपछि देशव्यापीरुपमा पीडितको पक्षमा प्रदर्शन भएको थियो । यही घटनाका सडकदेखि सदनसम्म जबरजस्ती करणीको कसूरमा हदम्याद हटाउन आवाज उठेको थियो ।

पीडितको पक्षमा आन्दोलन चर्किन थालेपछि प्रहरी मानवबेचिबखन तथा ओसारपसार सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १७:५६