सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा हल्का वर्षा, नागरिकलाई राहत महसुस

नेपालगन्जमा हल्का वर्षा भएको छ ।

सोमबार बिहान पख केहीबेर हल्का वर्षा भएको हो । वर्षा भएपछि नेपालगन्जबासीले राहत महसुस गरेका छन् । नेपालगन्जमा अत्यासलाग्दो गर्मीले जनजीवन कष्टकर बन्दै आएको थियो ।

मनसुनी वायुको प्रभावले सोमबार देशका अधिकांश भूभागमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

त्यस्तै, स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश १, मधेश प्रदेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १७:१६