सूचनाको शक्ति - The Power Of Information

        

समाचार

भीआइपीको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य

हाल नेपालमा १० वटा निजी र नेपाल सरकारको एक गरी ११ वटा हेलिकप्टर कम्पनी छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अबदेखि अनिवार्य रुपमा दुई जना पाइलट राख्नुपर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार साँझ बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

प्राधिकरणले विज्ञप्ती जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकप्टरलाई अबका दिन विशिष्ट व्यक्तिको उडानमा अनिवार्य दुईजना पाइलट राख्नुपर्ने निर्णय गरिएको जनाएको छ ।

यसैगरी प्राधिकरणले स्वचालित प्रणालीले तोके बमोजिम दुई जना पाइलट राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ । हाल नेपालमा १० वटा निजी र नेपाल सरकारको एक गरी ११ वटा हेलिकप्टर कम्पनी छन् ।

प्राधिकरणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौं बाहिर हेलिकप्टर र जहाजलाई सार्ने निर्णय समेत गरेको छ । हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएका आधार विमानस्थलमा जहाज पार्किङ गर्नुपर्ने जनाएको छ ।

यसैगरी हेलिकप्टरले पनि यही असार ७ गतेदेखि तोकिएका काठमाडौं बाहिरका विमानस्थलमा आफ्नो रात्री बिसान गरी पहिलो उडान ती विमानस्थलबाटै अनिवार्य गर्नुपर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १३:०४