लावालस्कर वादशाहको नग्नता र लज्जाका दर्शक बन्थे । उनका दानवीय क्रियाकलापका मतियार बन्थे । एक दिन वादशाह नाङ्गै सडकमा निस्के, तैपनि समर्थकले वाह ! वाह ! भनिरहे । आज ओलीसामु एमाले कार्यक्रर्ता त्यस्तै भएका छन् ।
नेपाली राजनीतिक वृत्तमा पुनः एकपटक वाम एकताको प्रसंगले प्रवेश पाएको छ । जुन प्रसंगले नागरिकस्तरमै बहस चलाउन सफल पनि भएको देखियो । २०७४ सालको निर्वाचन गठबन्धन र २०७५ सालको पार्टी एकताबाट छिन्नभिन्न बन्न पुगेको एमाले र माओवादीका नेताहरुले पुनः वाम एकताको मुद्दालाई उठाउन थालेका छन् ।
जसमध्ये एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, एमालेका नेता घनश्याम भुसाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायतले वाम गठबन्धनको आवश्यकताबारे आफ्ना विचारहरु अघि सारिरहेका छन् । विगतको निर्मम समीक्षा र गल्तीहरुमाथि गम्भीर आलोचना नगरी अघि बढ्न नसकिने कुरा एकता पक्षधर नेताहरुले बुझेकै होलान् ।
साँच्चै वाम एकताको आवश्यकता हो भने, विगतमा गरिएका गल्तीहरुमा माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओलीले आलोचना÷आत्मालोचना स्वीकार गर्नुपर्छ, र अघि बढ्नुपर्छ । दोस्रो र तेस्रो तहका नेता कार्यकर्ताले नेतृत्व र पार्टीभन्दा माथि उठेर ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्नुपर्छ ।
वाम एकता वा गठबन्धन हुनु देश र जनताका लागि खुसीको कुरा हो । तत्कालीन समयमा सत्ता र शक्तिको स्वार्थमा त एमाले र माओवादी एक हुनसकेका थिए भने आज त विचार, सिद्धान्त, रणनीतिक लक्ष्यहरु मिलेको अवस्थामा एकता असम्भव भन्ने कुरै छैन । बरु एकीकृत समाजवादी पार्टीले ८ महिनादेखि जनतालाई बाँडेका सपना, समाजवादी क्रान्तिका नारा र रुपान्तरणको अभियानमाथि प्रश्न गर्ने बेला भएको छ ।
राजनीति शक्ति भू–राजनीति, भूमण्डलीकरण र यथास्थितिवादी कित्तामा जाने देखेर एकताको आवश्यकता भनिँदैछ या स्थानीय चुनावको पराजयले एकताको विन्दु खोजी गरिरहेको छ ? या स्थानीय निर्वाचनको गठबन्धनमा एकीकृत समाजवादीलाई सम्मान नभएको र सोचेअनुरुपको सफलता हासिल गर्न नसकेर यसो भनिदैछ ? यी प्रश्नहरुको जवाफ मिहीनरुपमा बाहिरिनुपर्छ । नेतृत्वले आम जनता र कार्यकर्ताले बुझ्ने गरी यी प्रश्नको जवाफ दिनुपर्छ ।
एकताको प्रयास सकारात्मक
एकतामा बल देख्ने, बल प्रयोगको सिद्धान्त मान्ने र गतिको नियम मान्ने कम्युनिष्टहरु मिल्न सके धेरै राम्रो । तर, व्यक्तिगत स्वार्थ र टकरावका कारण आन्दोलनलाई नै कमजोर पार्ने काममा नेतृत्व उद्यत देखिन्छ । अर्कातर्फ ओली प्रवृत्ति नेतृत्वमा रहेसम्म एमालेसँग मिल्न नसकिने दाबीहरु सुनिन्छन् । नेपाली कम्युनिष्टहरु आफ्नो स्वार्थपूर्तिका लागि जस्तोसुकै सम्झौता र एकता गर्न तयार भएको इतिहास साक्षी छ । तर, देश र जनताका लागि आवश्यक पर्दा उनीहरु मिल्न सक्दैनन् भन्ने आरोपलाई नेतृत्वले गलत सावित गर्नुपर्छ ।
व्यक्तिगत र दलगत स्वार्थबाट उत्प्रेरित एकता दिगो हुँदैन भन्ने कुरा एमाले र माओवादी विभाजनले देखाइसक्यो । जे होस्, घटनाक्रहरु विकसित हुँदै स्थानीय निर्वाचन २०७९ सम्पन्न भइसकेको छ । यस निर्वाचनले एमालेलाई पहिलोबाट दोस्रोमा झार्याे । उसले आफूलाई दोस्रो भएको देख्न भने चाहेन । अतः लोकप्रिय मतको नाममा आत्मरति प्रदर्शन गरिरहेको छ । राष्ट्रियसभा, नेपाल बारको निर्वाचन, त्यो भन्दा अगाडि पत्रकार महासंघको निर्वाचन र अहिले स्थानीय निर्वाचनमा एमाले पराजय हुँदासम्म पनि एमालेको नेतृत्वमा घमण्डको उचाइ धरहरा बन्न थालेको देखिन्छ ।
बादशाहको कथा
यहिबेला एउटा बादशाहको कथा स्मरण हुन्छ । ‘बादशाह जहाँ पुग्यो, जसरी पुग्यो उसले मनमौजी तरिका अपनाउँथ्यो । लावालस्कर उनका नग्नता र लज्जाका दर्शक बन्थे । उनका दानवीय क्रियाकलापका मतियार बन्थे । एक दिन बादशाह नाङ्गै सडकमा निस्क्यो । तैपनि उसका समर्थकहरुले वाह ! वाह ! भनिरहे । बादशाह समर्थकको वाहवाहीबाट थप उत्साहित हुन्छ र ऊ सहर घुम्न निस्किन्छ । बाटोमा एउटा बालकले नाङ्गो बादशाहलाई देख्छ र कुरीकुरी भन्छ । जब बालकले कुरीकुरी भन्छ त्यसपछि बादशाहको आँखा खुल्छ र हतासमा लाज छोप्छ ।’
मतलव बालकले जस्तै ओलीलाई कुरीकुरी कसले भन्ने ? यो त अति भयो, अति गरे खती हुन्छ कसले भनिदिने ? तपाईं (केपी ओली)का कारण नेपाली कम्युनिष्ट आन्दोलन कमजोर बन्दैछ कसले भन्ने ? तपाईंको मनमा हरि पलाउनुपर्छ कसले भन्न सक्छ ? धरहरासँगै अग्लिएको घमण्डको उचाइ घटाउनुस् कसले भन्ने ? एमाले भन्ने पार्टीलाई आफ्नो निजी कम्पनी नबनाउनुस् कसले भन्ने ? त्यो पार्टीका कार्यकर्ता बादशाहका जस्तै भारदार बनेका छन् । घनश्याम भुसालाई आलोचना गरेकै भरमा कारबाहीको डण्डा चलाइन्छ ।
प्रश्न गर्नै नपाइने, पूजा गर्नुपर्ने मान्यता एमालेमा जबर्जस्त स्थापित भयो । केही कार्यकर्ता निरीह छन् । केहीले नेतृत्वको अतिरिक्त मतियारी गरिरहेका छन् । मानौं नेतृत्वको भक्तिगान गाउनु उनीहरुको दिनचर्या हो । त्यसैले यस्ता प्रवृत्तिबाट मुलुक बन्दैन । खासगरी कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ताहरुले सचेत भएर अघि बढ्नुपर्ने बेला आएको छ । हामी इतिहासको गम्भीर मोडमा उभिएका छौं । यस मोडबाट दुर्घटनामा पर्ने या बच्ने ? हाम्रो सम्मुखमा उभिएको प्रश्न यही हो । चेतना भया । (लेखक नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय प्रचार विभाग सदस्य हुन् ।)
धनराज वास्तविक ।