विशेष अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा उन्मुक्ति दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिएसँगै पाण्डेले उन्मुक्ति पाएका हुन् ।
अख्तियारले २०७५ मंसिर २१ गते बाँकेस्थित सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्बको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पाण्डेको स्वामित्वमा रहेको कालिका कन्स्ट्रक्सनले उक्त कामको ठेक्का पाएको थियो । अख्तियारले पाण्डे एक्लैलाई २ अर्ब १३ करोड रुपैयाँ बिगो तिराउनुपर्ने अभियोगसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो ।
यसअघि थुनछेकको बहसका क्रममा विशेष अदालतले भ्रष्टाचार मुद्दामा पाण्डेलाई ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको थियो ।
विशेषका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले उनीसँग ४ करोड धरौटी माग्ने निर्णय गरेसँगै पाण्डे उक्त धरौटी बुझाएर उनी छुटेका थिए ।
सत्यपाटी । काठमाडौं ।