सूचनाको शक्ति - The Power Of Information

        

कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप

बाँकेमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइने

७६ हजार २३९ जना बालबालिकालाई खोप लगाउने

बाँकेमा यही असार ९ गतेदेखि ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिइने भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार ७६ हजारबढी बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिन लागिएको हो ।

असार ९, १० र ११ गतेसम्म चल्ने खोप अभियानमा ७६ हजार २३९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा २० हजार २३१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ भने सबैभन्दा कम नरैनापुर गाउँपालिकामा ६ हजार ३३२ जनालाई खोप लगाउने लक्ष्य छ ।

यस्तै बैजनाथ गाउँपालिकामा ८ हजार ३४५, डुडुवा गाउँपालिकामा ६ हजार ९८८, जानकी गाउँपालिकामा ६ हजार ३७२ जनालाई खोप लगाउने लक्ष्य छ ।

यस्तै कोहलपुर नगरपालिकामा १० हजार २३१, खजुरा गाउँपालिकामा ८ हजार २२४ र राप्तीसोनारी गाउँपालिकामा ९ हजार २५७ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

स्वास्थ्य पत्रकार मंचले आयोजना गरेको कार्यक्रममा खोप अभियानबारे जानकारी दिँदै श्रेष्ठले अधिकांश खोप केन्द्र विद्यालयमा तोकिएको बताए । यसअघि बाँकेमा १२ वर्ष उमेर समूहभन्दा माथिका व्यक्तिलाई खोप लगाउने अभियान चलिरहेको छ ।

खोप लगाउने लक्षित समूह ४ लाख १ हजार ७९९ जनामध्ये अहिलेसम्म खोपको पहिलो मात्रा पूरा गर्नेको संख्या ८४.४ प्रतिशत रहेको छ भने दोस्रो मात्रा पूरा गर्नेको संख्या ७१.६ प्रतिशत रहेको छ । यस्तै बुष्टरको मात्रा लगाउनेको संख्या भने १८.२२ प्रतिशत मात्रै रहेको श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य पत्रकार मञ्चका निर्वामान अध्यक्ष कल्पना आचार्यले खोप अभियानलाई प्रभावकारी बनाउन संचारकर्मीहरुले सहि र तथ्य सूचनाहरु प्रवाह गर्न आग्रह गरिन् ।

कोभिडबिरुद्धको भ्याक्सिन प्रबद्र्धन तथा कोभिड–१९ को रोकथाम नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र स्वास्थ्य पत्रकार मञ्च नेपालले संयुक्त रुपमा आयोजना गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतवार १९:१४