केही दिनअघि दिँउसो १२ बजेतिर वीर अस्पतालको गेटबाहिर एकजना महिला ट्याक्सी कुरेर बसेकी रहेकी थिइन् । बिरामी डिस्चार्ज गरेर अनामनगर, घट्टेकुला लैजानका लागि उनी ट्याक्सीको खोजीमा भौतारिरहेकी थिइन् । अस्पताल अगाडि थुप्रै ट्याक्सी पाकिङमा थिए । तर, तीमध्ये कुनै पनि ट्याक्सी चालक मिटरमा जान मानिरहेका थिएनन् । सामान्य परिवारकी देखिने तिनले चालकसंग मिटरमा जान पटकपटक भन्दा पनि उनले स्वीकार गरेनन् । बरु, मोलमोलाई गरे । ट्याक्सी चालकले ७०० उक्त सडकमा बस र ट्याम्पो सञ्चालनमा नभएकाले पनि बिरामीलाई निकै सास्ती भयो ।
वीर अस्पतालबाट घट्टेकुला जान कुनै पनि क्युको सवारी साधन चल्दैनन् । पैदल यात्रा गरेको भए पनि आधा घण्टामा घट्टेकुला पुगिन्छ । तर, बिरामी हिड्न नसक्ने अवस्थामा भएकाले छिनमै ५०० रुपैंया चुना लगाउनुपर्यो । यो त एउटा उदाहरण मात्र हो । हरेक अस्पतालको गेटबाहिर यस्ता मोलमोलाई यत्तिकै भेटिन्छन् । भाडाको विषयमा लिएर सधैं चर्काचर्की भइरहेको देख्न सकिन्छ । सरकारले विगत धेरै वर्षदेखि भाडा नबढाएको बहाना बनाउँदै ट्याक्सी व्यवसायीले यात्रु ठग्दै आएका थिए । तर, बारम्बार ट्याक्सीको भाडा बढेको छ । २०६९ सालमा २० प्रतिशत भाडा बढाइएको थियो ।
त्यसपछि, २०७०, ०७२ र ०७५ मा पनि २० प्रतिशत भाडावृद्धि गरिएको पाइन्छ । बागमती प्रदेश सरकारले हालै मात्र पनि ट्याक्सीको भाडा बढाएको छ । २०७९ वैशाख १ गतेदेखि लागू हुनेगरि ट्याक्सी भाडा बढाएको हो । पहिले फ्ल्याग डाउनबापत यात्रुले १४ रुपैंयाँ तिरिरहेका थिए । अहिले त्यसलाई बढाएर एकचोटि ५० रुपैंया बनाइदिएको छ । उता, प्रति किलोमिटर भाडादर ३९ रहेको ठाउँमा ५० रुपैंयाँ पुर्याइयो । सरकारले जति भाडा बढाए पनि ट्याक्सी चालक सन्तुष्ट देखिँदैनन् । न मिटरमा हिड्छन् न यात्रुले भनेको ठाउँमा जान्छन् । तर, यसो गर्नलाई सरकारले छुट दिएको बुझिन्छ ।
मिटरमा नहिँड्ने ट्याक्सीलाई ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागले कारबाही गरेको छैन । अनुगमन गरेको भए पो कारबाही हुन्थ्यो ! ट्याक्सीले मात्र नपुगेर ठग्नका लागि विभिन्न संस्था खुलेका छन् । पठाओमार्फत ट्याक्सी बुक गर्यो भने सुरुमै १८० रुपैंया तिर्नुपर्छ । उसै पनि ५० को दरले नै जनताले दैनिक सेवा शुल्कबापत पाँच करोड तिरिरहेका छन् । राति नौ बजेबाट बिहान चार बजेसम्म डेढी हिर्काउछ । विगत ३३ वर्षदेखिबाट ट्याक्सीको दर्ता बन्द छ । सातै प्रदेशमा यत्रो वर्षदेखि सरकारले ट्याक्सीको नयाँ दर्ता खोलेको छैन् । यसको सिधा मार भने जनता र राज्यलाई परेको स्पष्ट देखिन्छ ।
ट्याक्सीमा भएको एकाधिकार र सिण्डिकेट तोड्न नसक्दा यातायात क्षेत्रमा विकृति मौलाएको छ । अहिले पनि दैनिक ५३ हजारभन्दा बढीले वैदशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति बुझिरहेका छन् । तर, सरकारको ध्यान यतातिर मोडिएको छैन् । नयाँ ट्याक्सीको दर्ता खोलिदिने हो भने मुलुकमै रोजगारीको अवसर सिर्जना हुन्थ्यो । ५० डिग्री सेन्टिग्रेटमा विदेशी भुमिमा गएर रगत पसिना चुहाउनुपर्ने दिनको पनि अन्त्य हुन्थ्यो । आफ्नै परिवारसँग बसेर आफ्नो मुलुकको लागि केही गर्न उनीहरु सबल हुन्थे । राज्यको ढुकुटीमा राजश्व पनि जम्मा हुन्थ्यो । म ट्याक्सी किनेर स्वरोजगार बन्छु, सर्वसुलभ मूल्यमा यात्रुलाई सेवा दिन्छु, राज्यलाई कर तिर्छुभन्दा पनि सुनुवाई हुँदैन ।
प्रति किमि ५० लाई घटाएर २५ मा चलाउँछु भनेर चिच्याउँदा पनि किन सुन्दैन सरकार ? सेवाशुल्क लिदिन भन्दा पनि सुनुवाई भएको छैन् । अरु नानाथरी कुरा सुन्ने सरकार जनताको जायज कुरा सुन्न किन चाहदैन् ? एकपटक मात्र नभई बारम्बार ट्याक्सीको नयाँ दर्ता खोल्नुपर्छ । देशमै बसेर रोजगारी गर्न पाउनुपर्छ भनेर आवाज उठ्दा पनि सरकारले किन चासो देखाइरहेको छैन । सर्वसाधारणले सस्तोमा सेवा पाउछन् भनेर सरकार डराएको हो ? सरकारको यस्तै अव्यवहारिक क्रियाकलापका कारण जनता निराश भएका छन् । कति सिधासाधी जनतामा हेपाहा प्रवृत्ति लादिरहेको सरकार ?
ट्याक्सी व्यवसायी आफु पनि सस्तोमा सेवासुविधा दिन तयार छैनन् । यात्रुप्रति उनीहरुले गरेको व्यवहार देख्दा दिकदार लागेर आउँछ । उनीहरुले देखाउने दादागिरीको सीमा नाघिसकेको छ । हामीलाई पिल्सिन बाध्य बनाएर सरकार खुसी भएको छ । उपत्यकामा जम्मा कालो प्लेटको मिटर जडित ट्याक्सी नौ हजार छ । तर, जनसंख्या हेर्ने हो भने करोडमा गनिन्छ । ट्याक्सीको विकल्पमा अन्य कुनै सवारी साधन ल्याउन पनि सरकार तात्दैन् । बरु जनता ठगिएको देखेर मनमनै रमाउँछ । अहिले सञ्चालनमा भएका ट्याक्सी चक्रपथबाहिर जान मान्दैन् । पहिले पहिले ट्याक्सीबाट हेपिएका यात्रुलाई टु–स्टक ट्याम्पोले बोक्थ्यो ।
२०४३–६० सालसम्म ट्याक्सीले छोडेका यात्रुलाई कालो हुटवाला तीन पाङग्रे मिटर जडित ट्याम्पोले यात्रा गराउथ्यो । पैसा हुनेलाई ट्याक्सी नहुनेलाई ट्याम्पो । स–साना, गोरेटो बाटोमा समेत ट्याम्पो सजिलै छिर्थ्यो । यता, ट्याम्पोको भाडा ट्याक्सीको तुलनामा निकै सस्तो थियो । यसले यात्रुलाई निकै सहजीकरण गरेको पाइन्थ्यो । २०६० भदौ २२ गतेको मन्त्रीपरिषद्को बैठकले उक्त ट्याम्पो हटाएर त्यसको सट्टामा ट्याक्सी दियो । क्युवाला ट्याम्पो विस्थापन गरेर माइक्रोबस र कालीमाटीमा सञ्चालन ढुवानी ट्याम्पोको सट्टामा चार पाङग्रे भ्यान सञ्चालनमा ल्याइयो । १७ सय मिटर जडित ट्याक्सी हटाएर सोही संख्यामा ट्याक्सी दिएको थियो, सरकारले ।
उता, २१ सय क्युवाला ट्याम्पोको साटो माइक्रोबस र ३५० ढुवानी ट्याम्पोको साटो भ्यान दिइयो । त्यस्तै, २०२८ सालमा दर्ता भएको पाँच हजार जर्मनी बसलाई २०५८ सालमा विस्थापना गरेर बस ल्याइयो । २०४३ सालमा ६४१ बिक्रम ट्याम्पो दर्ता भएको थियो । २०५६ भदौ ५ गतेको मन्त्रीपरिषद्को बैठकले सो ट्याम्पो हटाएर ४० लाख पर्ने गाडी भन्सार र भ्याट छुट दिएर २० लाखमा दियो । विगत ३९ वर्षदेखि एउटै व्यक्तिले व्यवसायी गरिरहेको छ । जसको कारण भाडाका गाडीको संख्या बढ्न पाएन् । तर, जनसंख्या बढेर कहाँबाट कहाँ पुगिसक्यो ।
त्यतिखेर एउटा गाडी किनेर व्यवसाय गरेकाले हालसम्म एक दर्जन सवारी जोडिसकेका छन् । तर, अझै पनि यातायात व्यवसायीहरुले २० वर्षे पुगेको सवारीको स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गरिरहेका छन् । एउटै व्यक्ति ५८ वर्ष जनता ठग्न कसिएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले हालसालै मात्र स्क्रयाब गरेको नम्बर प्लेटमा विद्युतीय ट्याक्सी दर्ता गर्न दिने भनेर निर्णय गरेको छ । यो निर्णय राजपत्रमा प्रकाशितसमेत भइसकेको छ । अहिले बजारमा स्क्र्याब गरेको नम्बर प्लेट १२ लाखमा बिक्रीवितरण भइरहेको छ ।
ट्याक्सी व्यवसायीले उक्त रकम जोडेर यात्रु ठगेका हुन् । सरकारले नयाँ ट्याक्सीको दर्ता खोलिदिने हो भने नम्बर प्लेट सित्तैमा पाइन्छ । यसबाट जनता र राज्यलाई फाइदैफाइदा । तर, दर्ता खोल्नतिर सरकारको ध्यान नजादाँ नयाँ व्यवसायी भित्रिन पाएका छैनन् । ट्याक्सीको संख्या पनि बढेन । होइन् भने ट्याक्सीको विकल्प खोज्नुपर्यो । सधैं कति जनता ठगिरहने ! ट्याक्सीको विकल्पमा मिटरजडित तीन पाङ्ग्रे, हुटवाला फो स्टक ट्याम्पोको दर्ता खोलिदिनुपर्छ । यसो भयो भने ट्याक्सीको लुटको दर्ता ठ्याक्कै रोकिन्छ । ट्याक्सी नछिर्ने सानो बाटोमा पनि उक्त ट्याम्पो छिर्छ । ट्याक्सीले छोडेको, हेपेको यात्रु बोक्ने यस्ता खालका सवारी साधनको दर्ता खोल्न ढिलाइ नगरौ ।
फो स्टक ट्याम्पोको भाडा प्रति किलोमिटर १५ रुपैंयाँ निर्धारण गरिदिए पुग्छ । उता, सेवाशुल्क पनि तिर्नुपर्दैन, यात्रुलाई कति आनन्द । प्रदेशका यातायातमन्त्री घनश्याम दाहालले जनताको यत्रो बिलौना सुन्दासुन्दै पनि नसुनैझै गर्नु लज्जास्पद विषय हो । जनतालाई सेवासुविधा दिन बेवास्ता गरिरहेका छन्, यातायात मन्त्री दाहाल । उनलाई यातायात व्यवसायीको चाहिदो नचाहिदो कुरा सुन्ने बानी परिसकेको बुझिन्छ । ट्याक्सी व्यवसायीबाट जनता कति पीडित छन् उनी यो सुन्न चाहँदैनन् । पटकपटक जनताको समस्या उनको कानसम्म पुप्याउदा पनि उनले मतलब गरेनन् ।
उता, सानाठूला सवारीसाधन यातायात कार्यालय प्रमुख मदन पोख्ररेल नयाँ ट्याक्सीको दर्ता खोल्दा ट्याक्सी व्यवसायीले धम्क्याउने हुन् कि भनेर डराइरहेका छन् । यता, सञ्चारमाध्यमहरुले पनि ट्याक्सीमा भएको बेतिथिबारे कलम चलाएका छैनन् । जसले गर्दा ठग ट्याक्सी व्यवसायीहरुको मनोबल बढ्दै गयो । सरकार ट्याक्सी व्यवसायीबाट हराउँछ । आन्दोलन गर्ने हो कि भन्ने डर सरकारी पक्षको अनुहारमा झल्किन्छ । तर, आन्दोलन गर्ने ट्याक्सी व्यवसायीको रोड परमिट र दर्ता खारेज गर्दैन । स्वदेशी र विदेशी दुवै ट्याक्सी व्यवसायीबाट ठगिएका छन् ।
अनुसा थापा ।