सूचनाको शक्ति - The Power Of Information

        

वेबसाइटमै यस्तो सेटिङ

खेलकुद मन्त्रालयको वेबसाइटमा निजी सञ्चारमाध्यमको विज्ञापन, हटाइयो सुटुक्क !

मन्त्रालयले भने आधिकारिक वेब साइटमा राखिएको निजी कम्पनीद्वारा सञ्चालित सञ्चारमाध्यमको प्रचार किन गरियो, विज्ञापन कसरी र किन राखियो भन्ने जानकारी नै नदिएर ती लिंकहरु सुटुक्क हटाएको छ ।

नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले निजी कम्पनीद्वारा सञ्चालित सञ्चारमाध्यमको विज्ञापन गरेको पाइएको छ । मन्त्रालयको आधिकारिक वेब साइटबाट निजी कम्पनीद्वारा सञ्चालित सञ्चारमाध्यमको प्रचार किन र कसरी गरियो भन्नेबारे मन्त्रालयले भने जानकारी उपलब्ध गराएको छैन ।

मन्त्रालयले उपयोगी लिंकहरुको नाममा अनाधिकृत रुपमा गोल नेपाल डटकम, हाम्रो खेलकुद डटकम, खेलपाटी डटकम र इकान्तिपुरलाई समावेश गर्दै विज्ञापन गरेको पाइएको हो । यद्यपी उक्त विज्ञापन अहिले हटाइसकिएको छ । सामान्यतया सरकारी वेटसाइटहरुले यसरी निजी कम्पनीद्वारा सञ्चालित संस्थाहरुको विज्ञापन गर्ने चलन भने पाइँदैन ।

सरकारको वेब साइट प्रतिष्ठा र मन्त्रालयको गरिमासँग समेत जोडिने विषय भएकाले यसरी अनाधिकृत विज्ञापन गर्नु गैरजिम्मेवारी काम हो । गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रले खेलकुद मन्त्रालय पाएको छ । बाँकेको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद महेश्वरजंग गहतराज ‘अथक’ मन्त्री छन् ।

तर, यसरी सरकारी वेबसाइटमा निजी कम्पनीको विज्ञापन राखिनु आफैमा अचम्मको विषय हो । माओवादी आफैंमा निजीकरणको विरोध गर्ने पार्टी पनि हो । मन्त्रालयको वेबसाइटमा क्लोजवान डट नेट (closeone.net)ले वेबसाइट डिजाइन गरेको उल्लेख गरिएको छ ।

यो कम्पनीको मुख्यालय ललितपुरको कुमारीपाटीमा रहेको उल्लेख गरेको छ भने, यसले आफ्ना ग्राहकको सूचीमा मन्त्रालयलाई समेत समावेश गरेको छ । मन्त्रालयको वेबसाइट निर्माण गरेको कम्पनीले वेब साइट निर्माण कम्तीमा १० हजारदेखि बढीमा ३० हजारसम्मको मात्रै अफर सार्वजनिक गरेको छ ।

यसरी सस्तो वेब साइट निर्माण गर्ने कम्पनीले कसरी खेलकुद मन्त्रालयको वेब साइट निर्माण गर्ने पहुँच राख्यो त्यो समेत गज्जबको विषय हो । अझ निर्माण कम्पनीले आफ्नो वेब साइटमा वेब सेक्युरिटी (एसएसएल)नै राखेको छैन । वेब साइटको सुरक्षा गर्न एसएसएल (SSL) राख्ने गरिन्छ ।

पैसा तिरेर र फ्रीमा यसको प्रयोग गर्न सकिने एसएसएलले वेब साइटको सुरक्षाको विषयमा मदत गर्ने गर्दछ । सरकारी वेबसाइट सुरक्षा र संवेदनशिलताको आधारमा अत्यन्तै जोखिमयुक्त मानिन्छ । नागरिकका आफ्ना डाटादेखि खेलाडी तथा खेलकुद सम्बन्धी सम्पूर्ण सरकारी र व्यक्तिगत डाटा चोरी हुन सक्ने खतरा रहँदा रहँदै यसरी लापरबाही गर्नु सामान्य विषय नभएको मन्त्रालयका एक उच्च पदाधिकारीले भने ।

ती पदाधिकारीका अनुसार यसरी वेबसाइटमा निजी कम्पनीको नाम कसरी आयो यो विषयमा कुनै जानकारी नै छैन । ‘यसरी आउनु लज्जाको विषय पनि हो । मन्त्रालय आफैं व्यवस्थित हुन सकेन भने आम खेलाडीको मनोविज्ञान र जनतालाई कसरी नेतृत्व दिन सक्ला र । मैले पनि तपाईले भनेपछि नै यो विषयमा जानकारी पाएँ । थप केहि भन्न सकिएन्,’ उनले भने ।

वेबसाइट निर्माण कम्पनीबाट यो बद्मासी भएको हुन सक्नेतर्फ ती पदाधिकारले जनाए पनि सरोकारवालाहरुले भने मन्त्रालयको अनुमति नलिई यस्तो काम हुन नसक्ने भएकाले भित्रिरुपमा केहि सेटिङ भएको हुन सक्ने दाबी गरेका छन् । मन्त्रालयले भने आधिकारिक वेब साइटमा राखिएको निजी कम्पनीद्वारा सञ्चालित सञ्चारमाध्यमको विज्ञापन सुटुक्क हटाइएको छ ।

वेब साइटबाट निजी कम्पनीद्वारा सञ्चालित सञ्चारमाध्यमको प्रचार किन, कसरी राखियो र किन हटाइयो भन्ने जानकारी नै नदिई सुटुक्क हटाइएको हो । खेलकुद मन्त्रालको वेब साइटमा निजी सञ्चारमाध्यमको विज्ञापन राखिएको समाचार प्रकाशित भएपछि मन्त्रालयले ती लिंकहरु सुटुक्क हटाएको हो । सरकारको आधिकारिक वेब साइटमा हुने परिवर्तन आम जनताको चासो र सरोकारको विषय भएपनि विज्ञापनका लिंकहरु बिना जानकारी सुटुक्क हटाइएको हो । यो विषयबारे मन्त्रालय र वेब साइट निर्माता कम्पनीले कुनै जानकारी उपलब्ध गराएका छैनन् ।

 

लुम्बिनी भ्वाइसबाट

 

 

प्रकाशित मिति : ५ असार २०७९, आइतवार १८:००