सूचनाको शक्ति - The Power Of Information

        

बाँके निकुञ्जमा शिकारी फरार प्रकरण

निकुञ्ज प्रमुखकै मिलेमतोमा पक्राउ परेका शिकारी हिरासतबाटै फरार

निकुञ्ज स्रोतका अनुसार पल्लीलाई हिरासतबाट भगाउने घटनामा निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साह, सहायक संरक्षण अधिकृत पुण्डनारायण चौधरी र रेन्जर यमराज रावत संलग्न थिए ।

जेठ २७ मा बाँके राष्ट्रिय निकुञ्जको प्रगतिनगर पोष्टबाट निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीले एक जना सेनाकै पोशाकमा रहेका व्यक्ति समात्यो । उनी सेनाको कम्ब्याट ड्रेसको टि–सर्ट र हाफपाइन्टमा थिए ।

सोधपुछका क्रममा उनी वन्यजन्तुको शिकार गर्न आएका कोहलपुर नगरपालिका–१३ सिम्रीका ५४ वर्षीय बलबहादुर पल्ली हुन् भन्ने खुल्यो । जंगलमै लिइएको बयानका क्रममा उनले आफूसँग बन्दुकसमेत भएको बताए । पछि पल्लीले लुकाएको बन्दुक मध्यवर्ती क्षेत्रको बैनी इलाकाको रुखको टोड्कोमा फेला पर्यो । निकुञ्जले यस घटनालाई आफ्नो सफलताको रुपमा लियो ।

शिकारी पल्लीलाई यसरी भगाइयो

वन्यजन्तु शिकारी पल्ली पक्राउ परेसँगै एउटा गिरोह उनलाई ‘सेटिङ’मै छुटाउने प्रयासमा लाग्यो । तर, सेनासहितको गस्ती टोलीले पक्राउ परेकाले वन प्रशासनले पल्लीलाई यत्तिकै छाड्ने हिम्मत गरेन । शिकारीको गिरोह र निकुञ्ज प्रशासनबीच पल्लीलाई रातारात हिरासतबाट भगाउने योजना बन्यो ।

निकुञ्ज स्रोतका अनुसार पल्लीलाई हिरासतबाट भगाउने घटनामा निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साह, सहायक संरक्षण अधिकृत पुण्डनारायण चौधरी र रेन्जर यमराज रावत संलग्न थिए । उनीहरु तीन जना र शिकारीको गिरोहबीच मोटो रकम लेनदेन भएपछि पल्लीलाई हिरासतबाट भगाइएको निकुञ्जका एक कर्मचारीले नाम सार्वजनिक नगर्ने शर्तमा बताए ।

‘श्याम, पुण्डनारायण र यमराज सरको मिलेमतोमा शिकारी पल्लीलाई भगाइएको हो,’ ती कर्मचरीले भने, ‘निष्पक्ष छानबिन भयो भने उहाँहरु बच्ने आधार नै छैन ।’ ती कर्मचारीका अनुसार पल्ली पक्राउ परेपछि शिकारीको गिरोह निकुञ्जको कार्यालयमै आएको थियो । पल्लीलाई छाड्न निकुञ्जका कर्मचारी र शिकारीको गिरोहबीच लेनदेनमा कुरा मिलेपछि हिरासत कक्षको ढोकाको लक लुज बनाइयो ।

त्यसरात हिरासत कक्षमा डियुटी नै नराखिएको निकुञ्ज स्रोतको दावी छ । स्रोतका अनुसार हिरासत कक्षको ढोकाको ताला लगाउने लकको नट र बोल्ट ढोकाको भित्रको भागमा छ, जहाँ थुनुवा राख्ने गरिन्छ । पल्लीलाई भगाउने योजनामुताविक २७ गते राति ढोकाभित्र रहेका नट रेन्चले लुज बनाइयो ताकि भित्रबाट नट खोलेपछि बाहिरको लक सजिलै खुलोस् ।

नट लुज बनाउने कार्यमा रेञ्जर रावत स्वयम् संलग्न भएको बताइन्छ । स्रोतका अनुसार २७ गते राति हिरासत कक्षमा राजु विक नामका कर्मचारीको ड्युटी थियो । विक ड्युटी गर्न हिरासत कक्षमा गएका पनि थिए । तर, प्रमुख संरक्षण अधिकृत साहको निर्देशनमा रेन्जर रावतले ‘आज डियुटी गर्न पर्दैन,’ भन्दै विकलाई फर्काइदिएका थिए ।

विकलाई फर्काएपछि रेन्जर रावत हिरासत कक्षमा पसेर ढोकाको लकको बोल्ट रेन्चले खोलेर लुज बनाइदिएको निकञ्ज स्रोतले बतायो । ‘रावत सर हिरासतभित्र गएर रेन्चले ढोकाको लकको बोल्ट लुज बनाइदिनुभयो । अनि बाहिर आउनुभयो,’ स्रोतले भन्यो, ‘भित्रबाट बोल्ट लुज भएपछि त्यसलाई हातले निकालेर ढोका खोली पल्ली भागेको हो ।’ स्रोतका अनुसार हिरासत कक्षमा रहेको च्यानल गेटमा समेत ताला लगाइएको थिइएन ।

निकुञ्ज स्रोतले दिएको ढोकाको नटबोल्ट लुज भएका, ड्युटी नराखिएको र च्यानल गेटमा ताला नलागाइएको सूचनालाई निकुञ्जका सहायक संरक्षण अधिकृत पुण्डनारायण चौधरीले पुष्टि गरेका छन् । ‘ढोकाको भित्र रहेको नटबोल्ट अलि लुज रहेछ,’ चौधरीले भने, ‘च्यानल गेटमा ताला पनि लगाइएको रहेनछ । त्यसैले शिकारी पल्ली सजिलै भाग्यो ।’ चौधरीले यस विषयमा निकुञ्जले छानबिन गरिहेको बताए । उनले आफूले २८ गते बिहान २ बजेमात्रै हिरासतबाट शिकारी पल्ली भागेको खबर पाएको बताए ।

घटना गुपचुप, भित्रभित्रै छानबिन समिति

बाँके राष्ट्रिय निकुञ्जले आफ्नो हिरासतबाट शिकारी भागेको घटनालाई अहिलेसम्म गुपचुप राख्ने प्रयास गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले सुरुमा त पल्ली पक्राउ परेको र हिरासतमै रहेको दावी गरे । निकुञ्जबाट बलबहादुर पल्ली नामको शिकारी पक्राउ गर्नुभएको हो ? भन्ने नेपालप्रेसको प्रश्नमा साहले भने, ‘हो, पल्ली पक्राउ परेको छ । हाम्रै हिरासतमा छ । ४५ दिनसम्म हिरासतमै राखेर अनुसन्धान गछौँ ।’

साहले पल्ली हिरासतमै रहेको बताएपछि उनलाई फेरि प्रश्न गरियो, ‘पल्ली त फरार भएका छन् रे नि ?’ यो प्रश्नपछि साह केही केही आत्तिएर भने, ‘हो, फरार भएको छ । छानबिन भइरहेको छ ।’ निकुञ्ज स्रोतका अनुसार प्रमुख संरक्षण अधिकृत साहले सहायक संरक्षण अधिकृत पुण्डनारायण चौधरीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् ।

‘छानबिन समिति त गठन गरिएको छ,’ स्रोतले भन्यो, ‘यो सबै आफूहरुले उन्मुक्ति पाउने बहानामात्रै हो ।’ स्रोतका अनुसार हिरासतमा रहेका शिकारीलाई भगाएपछि निकुञ्जको कार्यालयमा अन्य पदमा कार्यरत कर्मचारीलाई प्रवेश निषेध गरिएको छ । प्रमुख संरक्षक अधिकृत साहले शिकारी फरार घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

 

 

नेपालप्रेसबाट

 

 

प्रकाशित मिति : ५ असार २०७९, आइतवार १६:१६