सूचनाको शक्ति - The Power Of Information

        

शिक्षा क्षेत्रमा बेतिथि

त्रिभुवन विश्वविद्यालयको जग्गामा प्राध्यापकहरूको ठेक्कापट्टा

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको सम्पत्ति अपचलन अथवा दुरुपयोग गर्नेको सूची लामो छ ।

त्रिभुवन विश्वविद्यालयमा चल्छ एक हजार निजी क्याम्पस, ६० भन्दा बढी आफ्नै आंगिक क्याम्पस अनि छन् विभिन्न सङ्कायमा १५ हजारभन्दा बढी कर्मचारी । यो विश्वविद्यालय र मातहतका निकायको पूर्ण स्वामित्वमा छ देशभर १ करोड ३१ लाख ३७ हजार वर्गमिटर जग्गा ।

ओहो ! कति धनी विश्वविद्यालय । तर हैन यसलाई आफ्नैले लुटेर खोक्रो बनाइसके । यही खोक्रो बनाउनेको एउटा पाटो यहाँ खोल्न लागिएको हो । यो विश्वविद्यालयका नाममा २०३३ सालपछि, विभिन्न स्थानमा जोडिएको जमिन अहिले भूमाफियादेखि विश्वविद्यालय कै कर्मचारी र प्राज्ञिक जनशक्ति प्राध्यापकहरूले ठेक्का पट्टामा लगाएर मनोमानी गरिरहेका छन् ।

यसरी त्रिभुवन विश्वविद्यालयको नाममा रहेको सम्पत्ति अपचलन अथवा दुरुपयोग गर्नेको सूची लामो छ । त्यसमा पनि विश्वविद्यालयको साख बढाउन अहोरात्र खटिनुपर्ने प्राध्यापक अथवा कर्मचारीले झनै खुलेआम विश्वविद्यालयको सम्पत्तिमा रजाँई गरिरहेका छन् । शैक्षिक माफियाको रजगज त झनै डरलाग्दो छ ।

प्राध्यापक र कर्मचारीको अपारदर्शी ठेक्का पट्टा

त्रिभुवन विश्वविद्यालय वर्षमा आधा भन्दा बढी आन्दोलनको चपेटामा पर्छ । विद्यार्थी र कर्मचारी मात्र हैन यहाँका प्राध्यापकहरूले नै आन्दोलन गरेर विश्वविद्यालयको सिनेट बैठकलाई समेत प्रभावमा पार्छन् । त्यही आन्दोलनको बलमा त्रिभुवन विश्वविद्यालयको प्राध्यापक संघले विश्वविद्यालयको नाममा रहेको ५० रोपनी भन्दा बढी जग्गा ठेक्कामा लगाएर एकलौटी कारोबार गरिरहेको छ ।

बल्खुस्थित जनप्रशासन क्याम्पस र विश्वविद्यालयको केन्द्रीय परिसरसँग जोडिएको एक आनाको एक करोड हाराहारी पर्ने ५० रोपनी जमिनमा अहिले बल्खु– कुलेखानी हुँदै चल्ने टाटासुमोको पार्क छ । प्राज्ञिक पेशामा आवद्ध प्राध्यापकहरूले संघको भवन बनाउन भनेर लिएको जमिनबाट मासिक २ लाख रुपैयाँ भाडा असुल्छन् । जुन पैसा सोझै त्रिभुवन विश्व विद्यालय प्राध्यापक संघको खातामा जम्मा हुन्छ ।

बल्खु संयुक्त सुमो पार्कका व्यवसायीहरू अहिले मासिक २ लाख २५ हजार भाडा दिइरहेको बताउँछन् । तर त्रिभुवन विश्वविद्यालय प्रशासन बेखबर छ । केही टाठाबाठा प्राध्यापकले विश्वविद्यालयको जमिन भाडामा लगाएर मनोमानी गरेको विषय प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति हुँदै अहिले अख्तियार पुगेको छ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले बल्खुको मूल सडकमा मात्र हैन विश्वविद्यालय गेट अगाडि पनि झण्डै १५ रोपनी जमिन लिएको छ ।

त्यो पनि संघको बोर्ड राखेर मासिक दुई लाखभन्दा बढी भाडा असुल्छ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ केन्द्रिय समितिको भवन निर्माणस्थल लेखिएको गेटभित्र विशाल नर्सरी छ, थापा नर्सरी । मूल सडकबाट झण्डै वाग्मतीको किनारसम्म जोडिएको विश्वविद्यालयको यो जमिनको मासिक भाडा दुई लाख छ । सँगै जोडिएको अर्को बुढाथोकी नर्सरी रहेको ३ रोपनी जमिन पनि त्रिभुवन विश्वविद्यालयकै हो ।

तर बुढाथोकी नर्सरीले तिर्ने भाडा भने नेपाल प्राध्यापक संघ र त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको खातामा बाँडिएर जान्छ । विश्वविद्यालयले एक पैसा पाउँदैन । बुढाथोकी नर्सरीले मासिक ५० हजार रुपैयाँ दुई वटा खातामा बाँडेर जम्मा गर्ने गरेको छ । नेपाल प्राध्यापक संघले नर्सरीको भाडा मात्र लिँदैन । उसको आफ्नै भव्य व्यापारिक भवन त्रिवि कै जमिनमा बनेको छ ।

मूल सडकमा रहेका सात वटा व्यापारिक प्रयोजनका सटरबाट मासिक ७० हजार भाडा उठ्छ । माथिल्लो तलामा रहेको १४ वटा कोठा पनि संघले भाडामा लगाएको छ । तेस्रो तलाको एउटा कुनामा नेपाल प्राध्यापक संघको बोर्ड देखिन्छ । व्यापारिक भवनसँगै पछाडि संघको अतिथि गृह छ । ३ रोपनी जमिनमा बनेको अतिथि गृहमा, विभिन्न जिल्लाबाट आउने प्राध्यापकहरू निश्चित पैसा तिरेर बास बस्छन् । नेपाल प्राध्यापक संघले वार्षिक कति कमाउँछ ? विवरण अपारदर्शी छ ।

त्रिविको सम्पत्ति अपचलनमा नेपाल प्राध्यापक संघसँगै त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले पनि प्रतिष्पर्धा गरिरहेको छ । जसले टियु गेट अगाडि ३ तले व्यवसायिक भवन बनाएर अधिकांश कोठा भाडामा लगाएको छ । कर्मचारी संघको भवनको तल्लो तलामा होटल व्यवसाय चलाएर बसेका ‘भरत गुरु’ आफूहरूले मासिक साढे सात हजार रुपैयाँ भाडा कर्मचारी संघको खातामा हाल्ने गरेको बताउँछन् । संघले विश्वविद्यालयसँग लिएर नक्सा पाससमेत नगरी बनाएको भवनमा सात वटा सटर छन् ।

१४ कोठे भवनको भुइँ तला सबै भाडामा छ । माथिल्लो तलाको १४ कोठा पनि भाडामै छन् । होन्डा कम्पनीको सर्भिस सेन्टरदेखि मासिक ६० हजार तिर्ने ब्लक उद्योगसमेत संघले कब्जा गरेको विश्वविद्यालयको जमिनमा छन् । संघले ६ रोपनी जमिनमा भवन र ब्लक उद्योग राखेर भाडा असुली रहेको छ भने सँगै रहेको निजी पेट्रोल पम्पलाई ४ रोपनी जमिन भाडामा दिएको छ ।

पेट्रोल पम्पले मासिक एक लाखभन्दा बढी भाडा तिर्छ तर कर्मचारी संघको खातामा जान्छ । नेपाल प्राध्यापक संघका महासचिव नरेन्द्र शिवाकोटीले विश्वविद्यालय अन्तर्गतका प्राध्यापकको हकहित र उन्नयनका लागि मात्रै प्रयोग गर्न पाउने गरि विश्वविद्यालय सिनेटबाट स्वीकृत भएको उक्त जमिन आफूहरूले अन्जु बानियाँलाई सम्झौता गरेर ५ वर्षका लागि भाडामा दिएको बताए ।

‘वार्षिक १० प्रतिशत भाडा बढ्ने शर्तमा एउटै व्यक्तिलाई दिएको जमिन अहिले कुन प्रयोजनमा कसरी भोगचलन भइरहेको छ भन्ने जानकारी छैन,’ सिवाकोटीले भने, ‘भाडा कति आउँछ ठ्याक्कै जानकारी भएन, तर प्राध्यापक संघले बनाएको टियु गेट अगाडिको गेस्टहाउस समेत ठेक्कामा सञ्चालन भइरहेको छ ।’

‘हामीले व्यवस्थापन गर्न सकेनौ, त्यसैले प्राध्यापक संघको गेस्टहाउस न्यूनतम शुल्क उठाएर प्राध्यापकहरूलाई बस्न दिने शर्तमा ठेक्कामा दिएको हो,’ शिवाकोटीले भने, ‘यही नर्सरी, भवन र गेस्टहाउसबाट आएको पैसाले प्राध्यापक संघले प्राज्ञिक गतिविधि गर्दै आएको छ ।’ त्रिवि सामान्य प्रशासन महाशाखा प्रमुख श्रेष्ठले प्राध्यापक तथा कर्मचारीले सिनेट बाटै स्वीकृत गराएर जमिन लगेकाले यसबारे विद्यालयले प्रश्न गर्न नमिल्ने बताए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतवार १४:५८