सूचनाको शक्ति - The Power Of Information

        

साइपालका अध्यक्ष बोहरा नागरिकको घरमै गएर समाजिक सुरक्षा भत्ता वितरण गर्दै

बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा अहिले स्थानीयका घर–घरमा पुगिराख्नुभएको छ ।

निर्वाचित भए लगत्तै अध्यक्ष बोहराले मतदाताहरूलाई धन्यवाद दिनका साथै सामाजिक सुरक्षा भत्ता वितरण गर्नको लागि घरदैलो गर्न थाल्नुभएको हो ।

आर्थिक वर्ष २०७८ र ०७९ को अन्तिम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरणका लागी अध्यक्ष बोहरा लाभग्राहीको घर–घरमा नै पुगीरहनुभएको छ ।

विगतमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुले वडा कार्यालयमा नै पुग्नुपर्ने अवस्था रहेकोले ज्येष्ठ नागरिकसहित लाभग्राहीहरूलाई समस्या रहेकाले आफै सेवाग्राहीको घरमा पुग्न थालेको अध्यक्ष बोहराले बताउनुभयो

जम्मा पाँच वडा रहेको साइपाल गाउँपालिका भौगोलिक रूपमा अति विकट भएका कारण स्थानीयहरूलाई समस्या हुने गरेको छ । गाउँपालिका भित्रका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ७० वर्ष माथिका वृद्धवृद्धाहरुलाई वडा कार्यालयसम्म पुग्न समस्या हुने गरेको हो ।

साइपाल गाउँपालिका वडा (१ धलौनकी स्थानीय राइमती बोहाराले भन्नुभयो, ‘यै पालका (यस पटकका) अध्यक्षले घरमा नै आएर भत्ता दिया । आजसम्म यसरी घरमा नै भत्ता दिन कोही पनि आएनन् । तर उहाँ घरमै आउनु भयो । यस पटक वडा कार्यालय सम्म जानु परेन ।’

गाउँपालिका अध्यक्ष बोहराले बिहीबार र शुक्रबार वडा नं. १ धलौन र वडा नं. २ जिमामा रहेका लाभग्राहीको घरघरमा पुगेर भत्ता वितरण गरेको साइपाल गाउँपालिकाका इन्जिनियर तिलक विसीले बताउनुभयो ।

सबै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अध्यक्ष बोहराको योजना छ । बोहराले भन्नुभयो, ‘पालिकाका सवै वडामा नै गएर भत्ता वितरण गर्ने योजना रहेको छ ।

नागरिकले पाउने भत्ता लाभग्राहीको हातमा नै पु¥याउने योजना अनुसार म सबै लाभग्राहीको घर–घरमा पुगिरहेको छु ।’ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरूले अनिवार्य रूपमा बैंकमा खाता खोलेर बैंक मार्फत रकम प्राप्त गर्ने र पालिकाले पनि बैंक मार्फत नै रकम भुक्तानी गर्नु पर्ने भए पनि हालसम्म साइपाल गाउँपालिकामा बैंक स्थापना हुन नसक्दा सामाजिक सुरक्षा भत्ता नगदमा नै वितरण हुने गरेको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार १८:५१