सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका ट्रक व्यवसायीको आन्दोलन रोकियो

बाँकेका ट्रक व्यवसायीहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् ।

सरकारले निर्धारण गरेको ढुवानी भाडालाई केही संशोधन गर्ने व्यापारीबीचको सहमतिपछि घोषित आन्दोलन स्थगन गरिएको कोहलपुर ट्रक तथा मिनि ट्रक यातायात प्रालिका अध्यक्ष यज्ञबहादुर वलीले जानकारी दिए ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव डेकनाथ गौतम, नागरिक समाज नेपालगन्जका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्जका प्रतिष्ठित उद्योगी व्यवसायी, भेरी ट्रान्सपोर्ट एशोसिएसन, भेरी ट्रक यातायात प्रालि, कोहलपुर ट्रक तथा मिनि ट्रक यातायात प्रालि, नेपालगन्ज ट्रक प्रालि र सिद्द कैशाल प्रालिका पदाधिकारीबीच बिहीबार भएको छलफलमा तत्कालका लागि ढुवानी भाडामा संशोधन गर्ने सहमति भएपछि शुक्रबारदेखि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगन गरिएको वलीले बताए ।

सरकारले निर्धारण गरेको ढुवानी भाडा व्यापारीहरुले नदिएको र सरकारले पनि दिलाउन कुनै पहल नगरेको भन्दै बिहीबारदेखि ढुवानीका साधनहरु थन्क्याएर ट्रक व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार १८:२७