सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा मङ्कीपक्सका शङ्कास्पद एक जना बिरामी भेटिए

 विदेशबाट काठमाण्डौ आएका मङ्कीपक्सका एक जना शङ्कास्पद बिरामी काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका छन् ।

दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका ती शङ्कास्पद पुरुषलाई त्यहाँको हेल्थ डेक्सले सिधै टेकु अस्पताल पठाएको हो ।

ती पुरुषमा मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको तर पूर्ण परीक्षणबाट आउने नतिजाबाट मात्रै मङ्कीपक्सको सङ्क्रमण हो या होइन भनेर पुुष्टि गर्न सकिने अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो ।

मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ । सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ ।

अहिले विश्वभर एक हजार ६ सय जनाभन्दा धेरै जनामा मङ्कीपक्स रोग पुष्टि भएको छ । नेपालसहित दक्षिण एसियाका कुनै पनि देशमा अहिलेसम्म मङ्कीपक्सबारे पुष्टि भएको छैन ।

मङ्कीपक्स प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कटका रूपमा वर्गीकरण गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आउँदाे हप्ता आपत्कालीन बैठकसमेत गर्न लागेको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार १८:४५