सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका ट्रक ब्यवसायी आन्दोलित

सरकारी रबैयाले आजित बाँकेका ट्रक व्यवसायीले आजबाट ढुवानी साधन थन्काएका छन् ।

आफ्नो व्यवसाय धरासयी भएको गुनासो गरेका व्यवसायीले पूर्व निर्धारित योजना अनुसार ढुवानीका साधन थन्काएका हुन् । उनीहरुले ढुवानीमा प्रयोग हुदैँ आएको एक हजार ट्रक घर तथा ग्यारेजमा थन्काएका छन् ।

सरकारकै कारण आफुहरु व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको भन्दै उनीहरुले यस्तो कदम चाल्न बाध्य भएको बताए । सरकारले व्यवसायीको सवालमा नीति बनाउन नसक्नु र बनाएका नीति पनि कार्यान्वयन गर्न नसक्नुले ट्रक व्यवासायी पलायन हुने अवस्था आएको नेपालगन्ज ट्रक व्यवसायी समितिका अध्यक्ष महेन्द्र मल्ल ठकुरीले बताए ।

इन्धन र गाडीका पाठपूर्जाको मूल्यवृद्धि हुँदा सरकारले ढुवानी भाडा नबढाएको भन्दै कोहलपुर ट्रक प्रालिका अध्यक्ष यज्ञ बहादुर ओलीले आक्रोस पोखे ।

पछिल्लो पटक सरकारले तराईमा प्रतिकिलोमिटर ७ रुपैयाँ ६२ पैसा र पहाडमा प्रतिकिलोमिटर १४ रुपैयाँ ४८ पैसा ढुवानी भाडा निर्धारण गरेको छ । यही भाडा पनि सरकारले ढुवानी व्यवसायीलाई दिलाउन सकेको छैन ।

सरकार आफैले निर्धारण गरेको ढुवानी भाडा कार्यान्वयन नभएसम्म आफुहरु ढुवानीका साधन चलाउन नसक्ने उनीहरुले बताएका छन् । बाँकेका पाँच वटा प्रालिले कार्यगत एकता गर्दै आज(असार २ गते) देखि ढुवानीका साधन थन्क्याउने निस्कर्षमा पुगेको अध्यक्ष मल्लले बताए ।

भेरी ट्रान्सपोर्ट एशोसिएसन, भेरी अञ्चल ट्रक समिति, नेपालगन्ज ट्रक प्रालि, कोहलपुर ट्रक प्रालि र सिद्द कौशल ट्रक प्रालिले कार्यगत एकता गरेर सरकार विरुद्ध ढुवानीका साधान घरमै थन्क्याउने भएका हुन् ।

बाँकेमा करिब एक हजार ट्रक व्यवसायी रहेको बताइएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार १७:५२