सूचनाको शक्ति - The Power Of Information

        

बाघको आक्रमणबाट रेखाको मृत्यु, बाघ धपाउन हवाई फायर

भरतपुर महानगरपालिका २७ स्थित राधाकृष्ण मध्यवर्ती सामुदायिक बनमा निगुरो टिप्न भनी गएको अवस्थामा एक युवतीलाई बाघले आक्रमण गरी मारिदिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार बिहीबार बिहान ७ बजेको समयमा साथीहरुसँग निउरो टिप्न भनी गएकी चितवन भरतपुर महानगरपालिका २७ बस्ने वर्ष २३ कि रेखा बस्नेतलाई बाघले आक्रमण गरी जङ्गलतर्फ लगेको हो ।

उनीसँग गएका साथीहरुले दिएको सूचनाको आधारमा इप्रका दिव्यनगर इप्रका फूलबारी चितवनको टोलीसहित र खड्गदल गण मेघौलीबाट नेपाली सेनाको मेजरसहितको टोली खोजीमा जाँदा बाघले आक्रमण गरेको भनिएको स्थानभन्दा ३०० मिटर जङ्गलतर्फ ती महिलालाई खाइरहेको अवस्थामा भेटिएको र सेनाले पाँच राउण्ड हवाई फायर गरेर बाघबाट लाश छुटाएर ल्याएको हो ।

प्रहरीका अनुसार युवतीको टाउको र छातीको भाग बाघले खाइसकेको अवस्थामा शव फेला परेको छ । घटनास्थल तथा लाश जाँच मुचुल्काको कार्य भइरहेका प्रहरीले जानकारी दिएको छ । बाघबाट मारिएकी महिला पूर्व म्यादी प्रहरीसमेत भएको प्रहरीले पुष्टि गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट निस्किएको बाघको आक्रमणमा परी बितेको एक महिनाको अवधिमा मारिने यी चौथो महिला हुन् । यसअघि जेठ ८ गते भरतपुर १३ बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा भरतपुर १३ की फुलकुमारी बोटे, राप्ती नगरपालिका १ निकुञ्ज क्षेत्र नजिकै जङ्गलबाट घाँस काटन गएकी सेतीमाया तामाङ र जेठ २३ गते घैलाघारी मध्यवर्ती सामुदायिक वन क्षेत्रका गएकी मंगली बोटे बाघको आक्रमणबाट निधन भएको थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार १५:०४