धानमा हाल्ने रासायनिक मल नपाउँदा बाँकेका किसान चिन्तित छन् । अबको केही दिनमा रोपाइँ गर्नुपर्ने यहाँका किसानले ब्याडमा चाहिने मल समेत प्राप्त गर्न सकेका छैनन् ।
नेपालगज्ज–१८ लग्दहवाका मनोजकुमार सोनकर ब्याडमा मल हाल्न नपाए बीउ उत्पादनमा कमी आउने बताउँछन् । ब्याडमा हाल्ने मल खरिदका लागि दैनिक सयौँ किसान नेपालगन्जस्थित कृषि सामग्री कम्पनी पुग्ने गरेका छन् ।
उनीहरू रित्तो हात घर फर्किन बाध्य छन् । बीउमा हाल्ने मल नपाएपछि यहाँका किसान भारतीय बजार धाउन बाध्य भएको डुडुवा गाउँपालिका–६ हिरमिनियाका सावितराम यादवले बताए । मुख्य बाली धानको ब्याडमा मल हाल्न नपाउँदा किसान चिन्तित भएको उनको भनाइ छ ।
कृषि सामग्री कम्पनीमार्फत किसानलाई वितरण गरिने अनुदान सहुलियतको मल पर्याप्त आएको छैन । बाँकेमा धान खेतीका लागि एक हजार २०० मेट्रिक टन डीएपी, तीन हजार मेटिक टन युरिया र ५० मेट्रिक टन पोटास मल आवश्यक पर्छ । कार्यालय प्रमुख रमेश पौडेलले न्यून परिमाणमा मात्र मल प्राप्त भएको बताए ।
हाल ३३५ टन डिएपी मल प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएको र सोहीअनुसार आउने क्रममा रहेको उनले बताए । युरिया तथा पोटास धान रोपाइँको समयमा आउने प्रदेश कार्यालयले जनाएको छ । कार्यालयले बाँकेका १०७ सहकारी संस्थामार्फत किसानलाई मल वितरण गर्दै आएको छ ।
जनकल्याण सहकारी संस्था कोहलपुरका अध्यक्ष हरिबहादुर श्रेष्ठले प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएको मल सबै स्थानीय तहमा वितरण गरिरहेको भए पनि आवश्यकता भन्दा न्यून भएको बताए । किसानलाई कसरी मल वितरण गर्ने भन्ने समस्या भएको उनको भनाइ छ ।
सत्यपाटी । बाँके ।