सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाढीबाट बाँकेमा ५० हजार नागरिक प्रभावित हुने आँकलन

फाइल तस्वीर

जिल्ला विपद् व्यवस्थापन समिति बाकेले यो वर्ष मनसुनबाट करिब १० हजार घर परिवारको ५० हजार नागरिक प्रभावित हुने आँकलन गरी त्यसबाट जोगिने तयारी शुरु गरेको छ ।

बाढी र डुबानबाट क्षति न्यूनीकरण गर्न मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ समेत तयार गरेर कार्यान्वयन शुरु गरिएको विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले यस वर्षको मनसुनमा विगतमा भन्दा बढी वर्षा हुने आँकलन गरिएकाले सबै सुरक्षा निकाय, विषयगत समितिलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए ।

उनले मनसुनबाट जिल्लाका ५० हजार नागरिक प्रभावित हुने आँकलन गरिएकाले अहिलेबाटै बाढी र डुबानबाट जोगिने सबै उपायहरु अपनाउन तथा सबै पूर्वतयारी गर्न आफूहरु लागि परेको बताए ।

सोही तयारी अनुरुप बाढीजन्य विपदको खोज तथा उद्धारमा प्रयोग हुने सामग्रीहरुको प्रयोग गरी डुडुवा गाउँपालिकाको कम्दीस्थित राप्ती नदीमा प्रदेश सरकार, सबै सुरक्षा निकाय, पालिका, रेडक्रसको सहभागितामा असार ६ गते बिहान ११ वजे कृत्रिम घटना अभ्यास गरिनेछ ।

विपद व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार बाढीजन्य विपदबाट उच्च जोखिमयुक्त्त क्षेत्र, परिवार सङ्ख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिकाभित्र भएको विपदमा प्रयोग हुने स्रोतसाधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।

सोही प्रकारले विपद सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्ने जस्ता कार्यहरु रोक्ने निर्णय पनि समितिले गरेको छ ।

अत्यावश्यक सामग्री खानेकुरा, कपडा, औषधि, पानीको आवश्यक भण्डारण गर्नेे निर्णयसमेत गरिएको ज्ञवालीले बताए । नजिकको नदी, नालामा पानीको बहावको सूचना लिई नदीको सतह बढेको तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन सूचना प्रवाह गर्ने निर्णय पनि भएको छ ।

त्यसैगरी बाँकेको बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला, डुडुवा नाला लगायतका जोखिमयुक्त क्षेत्रहरुमा हुन सक्ने कटान तथा बाढीका कारण हुने क्षति न्यूनीकरणका लागि समयमै रोकथाम तथा आपतकालीन तटबन्धको लागि कार्य गर्न सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिने निर्णय पनि गरिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार १०:२३