आज दिउँसाे वाग्मती, गण्डकी र प्रदेश-१ का धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् ।
मौसमविद् हिरा भट्टराईका अनुसार आज दिउँसाे हल्कादेखि मध्यम वर्षाको सम्भावना भए पनि राति भने ठूलो पानी पर्ने अनुमान छ ।
राति प्रदेश-१, मधेस प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा आज पनि मेघ गर्जन र चट्याङ्ग पर्ने सम्भावना छ ।
अहिले चार प्रदेश वाग्मती, गण्डकी, मधेस र प्रदेश-१ मा मनसुनी प्रणाली सक्रिय छ । अन्य प्रदेशमा भने आंशिक मात्र प्रभाव रहेकाले ती प्रदेशमा खासै पानी पर्न सकेको छैन ।
धनगढी, बर्दिया, सुर्खेत र रुपन्देहीमा हल्कादेखि मध्यम वर्षा भए पनि मनसुन फैलिनसकेकाले अन्य ठाउँमा गर्मी बढेको मौसमविद्ले बताएका छन् ।
यसैबीच, देशको पूर्वी क्षेत्रमा लगातारजसो वर्षा भइरहेकोले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सचेत रहन समेत आग्रह गरेका छन् ।
सत्यपाटी । काठमाडौँ ।