सूचनाको शक्ति - The Power Of Information

        

समाचार

अब १८ बर्षमै विवाह

विवाह गर्ने उमेर घट्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विवाहको उमेर २० बर्षलाई घटाउने भएको हो ।

कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाका अनुसार विवाहको उमेर २० वर्षबाट घटाउनका लागि कानुन संशोधन प्रक्रिया थालिएको जानकारी दिएका छन् ।

कानुन मन्त्रालयले विवाहको उमेर २० वर्ष राख्दा अपराध बढेको र बाल विवाहमा सजाय भइरहेको भन्दै कानुन संशोधन कार्य सुरु भएको मन्त्रीले जानकारी दिएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले उक्त कुराको जानकारी दिएका हुन् ।

‘विवाहको उमेर १८ बनाउनेबारे अध्ययन भइरहेको छ । १६ वर्षमा नागरिकता पाउँछ । १८ वर्षमा भोट हाल्न पाउँछ । २० वर्षमा विवाह भन्ने कानुन छ,’ उनले भने, ‘विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइरहेको छ । बालविवाहमा सजाय भइरहेको छ ।’

कांग्रेस सचेतक पुष्पा भुसालले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्षमा झार्नेबारे के काम भइरहेको छ भनेर सोधेको प्रश्नको जवाफमा मन्त्री शर्माले भने, ‘यो कानुनमा संशोधन गर्नुपर्छ । कानुन मन्त्रालयले संशोधनको प्रक्रिया थालिसकेको व्यहोरा अनुरोध गर्न चाहन्छु ।’ प्रचलित कानुनमा विवाह गर्ने २० वर्ष छ । २० वर्ष नपुग्दै विवाह गरेमा बाल विवाहको कसुरमा सजाय गरिँदै आएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार ०८:१४