सूचनाको शक्ति - The Power Of Information

        

विद्युत समस्या समाधानबारे कुलमानसँग मेयर विष्टको छलफल

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्जमा देखिएको विद्युत अनियमितताको समाधानका विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन् ।

नेपालगञ्जमा केही समययता विद्युत अनियमितता बढेपछि नगर प्रमुख विष्ट प्राधिकरणको कार्यालयमा पुगेर मंगलबार कार्यकारी निर्देशक घिसिङसँग छलफल गरि समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हुन् ।

छलफलमा नगर प्रमुख विष्टले नेपालको सबैभन्दा बढि गर्मी हुने शहर नेपालगञ्जमा विद्युत अनियमितता बढेपछि जनजीवन अस्तब्यस्त भएकोे भन्दै समस्याको दिर्घकालिन समाधानका लागि कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराए ।

सो अवसरमा कार्यकारी निर्देशक घिसिङले नेपालगञ्जमा बुटवल र महेन्द्रनगरबाट विद्युत आपूर्ती हुने भएको र त्यसको दुरी लामो भएका कारण विद्युत अनियमितता हुने गरेको भन्दै तार लगायतका अन्य समस्या समाधान गरि केही दिनमै समस्याको समाधान हुने आश्वासन दिएको नगर प्रमुख विष्टले जानकारी दिए ।

यसैगरी नगर प्रमुख विष्टले काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग पनि भेटघाट गरेका छन् । भेटमा नगर प्रमुख विष्टले शाहलाई नेपालगञ्ज आउन औपचारिक आमन्त्रण गरेका छन् । काठमाण्डौ र नेपालगञ्जका प्रमुखबीच विकास निर्माण लगायतका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार १८:१८